काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् ।
कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन् । उनले आफूहरू बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा प्रक्रिया नै अघि नबढाएको आरोप लगाएका हुन् ।
कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो । आफ्ना सन्तानलाई बाबुसँग भेट्न नदिनु सामूहिक दण्ड हो,’कासिमले लेखेका छन् । उनले अन्तर्राष्ट्रिय मानवअधिकार संस्था तथा सरकारहरूलाई हस्तक्षेप गर्न आह्वान गर्दै ढिला भए अपूरणीय क्षति हुनसक्ने चेतावनी दिएका छन् ।
यो घटनाक्रम इमरान खानको स्वास्थ्य अवस्था र उपचार पहुँचबारे बढ्दो चिन्ताका बीच आएको हो । गत साता सरकारले इमरान खानलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) लगिएको स्वीकार गरेको थियो ।
त्यसपछि पीटीआईले परिवार र पार्टी नेतृत्वलाई जानकारी नदिई गोप्य रूपमा अस्पताल सारिएको भन्दै सरकारको आलोचना गरेको थियो । पार्टीले इमरान खानलाई आफ्ना निजी चिकित्सकहरूसँग भेट्न नदिइएको आरोप पनि लगाएको छ ।
यसअघि राष्ट्रिय सभाका विपक्षी नेता महमूद खान अचकजईले प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै इमरान खानका ‘विश्वसनीय’ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउन व्यक्तिगत हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
इमरान खानका छोराहरूले सन् २०२५ को डिसेम्बरमै भिसा आवेदन दिएको र जनवरीमा पाकिस्तान जाने योजना बनाएको बताएका थिए ।
तर, पछिल्ला रिपोर्टहरूमा अधिकारीहरूले कासिम र सुलेमानलाई भिसा दिन अस्वीकार गरिरहेको उल्लेख भएपछि पूर्वप्रधानमन्त्रीको स्वास्थ्य र परिवारसँगको भेटघाटबारे चिन्ता थप बढेको छ ।