दोहा, कतार
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा मञ्जुश्री संवत् २८६२ 'ता ल्हो' (घोडा वर्ग) को अवसरमा आयोजित 'सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम' मुन्तजास्थित बर्लिङ स्कुलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ।
सांस्कृतिक रौनक र सांगीतिक प्रस्तुति
साँझको करिब पौने ६ बजे दर्शकले खचाखच भरिएको हलमा लोकप्रिय गायक तथा संगीतकार विश्व दोङले करिब डेढ घण्टा प्रस्तुति दिए। स्टेज उक्लिने बित्तिकै "पूर्वको तामाङलाई दुख्दा पश्चिमको तामाङलाई पनि दुख्नु पर्छ" भन्दै सांगीतिक ढोका खोलेका दोङले आफ्नो वैदेशिक यात्रा कतारबाटै सुरु भएको स्मरण गर्दै आयोजकप्रति आभार व्यक्त गरे। उनले 'साइँलो म चार घरे' र 'केराको पातले भुईं छुन्छ' जस्ता चर्चित गीतहरूमा दर्शकलाई मजैले नचाए। साथै, उनले आसन्न निर्वाचनमा राम्रो नेता चुन्न र घरपरिवारमा समेत सुझाव दिन प्रवासबाटै आग्रह गरे।
त्यस्तै, नेपालबाट आमन्त्रित चर्चित म्हेन्दोमाया गायिका मिना लामाले आफ्नो प्रस्तुति मार्फत हललाई संगीतमय बनाइन्। कतारमै रहेका दर्जनौं कलाकारहरूले ताम्बा नाच, घोडा नाच र म्हेन्दोमाया प्रस्तुत गर्दा कार्यक्रम लोभलाग्दो देखिएको थियो।
घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष फुर्बा ग्याबा तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले तामाङ समुदायको ऐतिहासिक कार्यक्रमको प्रत्यक्ष साक्षी बन्न पाउँदा खुसी व्यक्त गर्दै कतारमा रहेका तामाङहरूका दुई धार छिट्टै एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले शुभकामना मन्तव्य राख्नुभएको थियो। जनजाति समुदायको परम्परा अनुसार महासंघमा आबद्ध विभिन्न मातृसंस्थाहरूले सद्भाव स्वरूप घेदुङलाई 'सगुन' (कोसेली) उपहार प्रदान गरेका थिए।
औपचारिक सत्र र समापन
कार्यक्रम संयोजक दिल कुमार स्याङ्बो तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थापक अध्यक्ष योगेन्द्र ल्हो तामाङले सोनाम ल्होछारको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव राम बहादुर पाख्रिन तामाङ, उप-महासचिव विनय बोम्जन तामाङ र सपना घलान तामाङले संयुक्त रूपमा गर्नुभएको थियो।
अन्त्यमा, सभापति फुर्बा ग्याबा तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, प्रायोजक र उपस्थित सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै भव्य समारोहको समापन गर्नुभएको थियो।