दोहा, कतार ।
कतारमा रहेका पाल्पालीहरुको गौरव र एकताको प्रतीक 'पाल्पाली सेवा समाज, दोहा-कतार' ले आफ्नो १९औं स्थापना दिवस तथा ९औं ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १३, २०२६ मा भव्यताका साथ आयोजना गर्ने भएको छ।
कार्यक्रम संयोजक विकास गैरेका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। गैरेले कतारमा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको जानकारी दिए। "हामीले सबैलाई समेट्ने प्रयास गरेका छौं, यदि प्राविधिक कारणवश कसैले निमन्त्रणा पत्र प्राप्त गर्नुभएको छैन भने यसै समाचारलाई आधार मानी उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं," संयोजक गैरेले अपिल गरे।
सांस्कृतिक रौनक र स्थानीय कलाकारको प्रस्तुति
अधिवेशनलाई केवल औपचारिक प्रक्रियामा मात्र सीमित नराखी उत्सवको रूपमा मनाउन कतारलाई नै कर्मथलो बनाएका स्थापित नेपाली कलाकारहरूले बेजोड सांगीतिक प्रस्तुतिहरू दिने तय भएको छ। प्रवासमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थानीय प्रतिभाहरूलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
स्थान र समय
समाजका महासचिव माधव भण्डारीका अनुसार अधिवेशन फेब्रुअरी १३, २०२६ (शुक्रबार) का दिन प्लाजा मलस्थित लालीगुराँस नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजना हुनेछ। कार्यक्रम बिहान ठिक ११:३० बजे सुरु हुने भएकाले सम्पूर्ण पाल्पाली दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई समयमै उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन महासचिव भण्डारीले आग्रह गरेका छन्।
सन् २००७ मा स्थापना भएको यो समाजले कतारमा रहेका नेपालीहरूका बीचमा भाइचारा अभिवृद्धि गर्नुका साथै सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका खेल्दै आएको छ। आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै समाजलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।