काठमाडौं । समाजसेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय कार्यमा दीर्घकालीन योगदान पुर्याउँदै आएका अनन्तप्रसाद भेटुवाललाई ‘मनास्लु समाजसेवी सम्मान–२०८२’ प्रदान गरिएको छ। मनास्लु वर्ल्ड स्कुल/कलेज परिवारले उहाँको निस्वार्थ सेवाभाव, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।
लायन्स क्लब इन्टरनेसनलका आदर्श नेता समेत रहनुभएका भेटुवालले समाजसेवामा जीवन अर्पण गर्दै शिक्षा क्षेत्रमा विद्यालय सहयोग, शैक्षिक सामग्री वितरण, स्वास्थ्य सेवा तथा स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यमार्फत उल्लेखनीय योगदान दिनुभएको छ। विपद् व्यवस्थापन, वातावरण संरक्षण, रक्तदान अभियान तथा सामाजिक चेतनामूलक कार्यक्रमहरूमा उहाँको सक्रिय भूमिका प्रशंसनीय रहेको जनाइएको छ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कोभिड–१९ महामारीका समयमा आइसोलेसन केन्द्र स्थापना, अक्सिजन थेरापी, खाद्यान्न वितरण तथा स्वास्थ्य सामग्री सहयोग जस्ता मानवीय कार्यमा अग्रसर भई उहाँले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। यी कार्यहरूले उहाँलाई “मानवताको पर्याय” का रूपमा स्थापित गरेको छ।
“सेवा नै धर्म हो” भन्ने लायन्स भावनालाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन उहाँको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै मनास्लु वर्ल्ड स्कुल/कलेज परिवारले उहाँलाई विशेष व्यक्तित्व सम्मानस्वरूप उक्त पुरस्कार अर्पण गरेको हो।
कार्यक्रममा उहाँको दूरदर्शी सोच, परिश्रम र समर्पणले आगामी दिनमा पनि समाजलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो। साथै, उहाँको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर समाजसेवाको कामनासमेत गरिएको छ।