काठमाडौं, साउन १६। समाजसेवा तथा महिला सशक्तीकरणको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी साहारा फाउण्डेसनकी अध्यक्ष दिलमाया तामाङ ‘राना’ महिला सशक्तीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै ‘विशेष समाजसेवा सम्मान–२०८३’ बाट सम्मानित भएकी छन्।
एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्ट (EWWE) को १४औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंस्थित चलचित्र विकास बोर्ड परिसरमा आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा तामाङलाई उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान–पत्रअनुसार, तामाङले साहारा फाउण्डेसन तथा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रा.लि. की अध्यक्षका रूपमा समाजसेवा, महिला सशक्तीकरण, सीप विकास तथा आत्मनिर्भर समाज निर्माणका क्षेत्रमा उल्लेखनीय नेतृत्व र योगदान पुर्याएकी छन्।
पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी तामाङले साहारा फाउण्डेसनमार्फत हजारौँ महिलालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगार, उद्यमशीलता र आर्थिक सशक्तीकरणतर्फ प्रेरित गरेको सम्मान–पत्रमा उल्लेख गरिएको छ।
आयोजक संस्थाले सामाजिक रूपान्तरण, महिला अधिकार, नेतृत्व विकास तथा समाजसेवाप्रतिको उनको समर्पणको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाएको छ।
कार्यक्रममा एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्ट का अध्यक्ष गोपाल ढकाल (छन्दे) को सभापतित्व, चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डीसी को प्रमुख आतिथ्यता तथा वरिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्द को विशेष आतिथ्यता रहेको थियो। साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा आयोजकले दिलमाया तामाङले आगामी दिनमा पनि समाजसेवाको क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै निरन्तर सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।