सुर्खेत । कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतीको भर्जिन गन्तव्यका रुपमा कर्णालीलाई लिन सकिन्छ । कर्णालीको भौगोलिक विकटता, सडक यातायातको पुहँचको अभाव र पर्यटकीय स्थलहरुको प्रचार प्रसार नहुँदा ती थुप्रै सम्पदा ओझेलमा परेका छन् ।
कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरु छन् ।
पछिल्लो समय कर्णालीका पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि पर्यटकहरु आउन थालेका छन् । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोबर दर्शन गर्न सकिने भएकाले पनि पर्यटकको कर्णालीको पर्यटन बिकासका लागि कर्णाली प्रदेश सरकारले ‘विश्वको गन्तव्य नेपाल, नेपालीको गन्तव्य कर्णाली’ को आकर्षक नारासहित आफ्नो निति कार्यक्रम मार्फत पर्यटन बिकासको पहल गरिरहेको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटन गन्तव्यका रुपमा घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका प्रसिद्ध पर्यटकीय स्थलहरु छन् । देउती बज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रुपमा चिनिएको देउती बज्यै, शहिद पार्क, लगायतका स्थानहरु सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण हुन् ।
त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायतका स्थानहरुले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।
दैलेखको पञ्चकोशी, कालिकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरुले कर्णालीको मात्र होइन मुलुककै पहिचान दिइरहेका छन् ।