बाजुरा । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम गर्ने प्रचलन छ । नयाँ बर्षको छेको पारेर पदयात्रा गर्ने, प्राकृतिक सुन्दरतामा रमाउने र नयाँ नयाँ पर्यटकीय स्थलहरुको घुमघाममा रमाउनेहरुको संख्या बढ्दो पाइन्छ ।
यसमध्ये बाजुरामा घुम्न लायक दर्जनौं पर्यटकीय स्थलहरु छन् । उक्त स्थानहरुको भ्रमणले नयाँ बर्षमा थप उमंग र उत्साह ल्याउनेछ ।
बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु
बडीमालिका : बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित बडीमालिका चर्चित धार्मिक तथा पर्यटकीय स्थल मध्ये एक हो । यहाँ हरेक बर्ष जनै पूणिर्माको बेला पूजाआजा हुनेगर्छ । बडीमालिका माताको दर्शन गर्न देश तथा विदेशबाट लाखौं दर्शनार्थी त्यहाँ जाने गरेका छन् ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् । छिमेकी देश भारतलगायत अन्य छिमेकी देशबाट दर्शनार्थी बडीमालिका पुग्ने गर्छन् ।
बडीमालिकामा अहिले नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर समेत निर्माण गरेको छ ।
साथै प्रधानमन्त्री बालेन्द्र शाहले बडीमालिकालाई ‘स्विजटरल्याण्डको बाउ’ भनेपछि झनै विश्वभर चर्चामा छ । अहिले बडीमालिकामा सेताम्य हिउँ भएकाले यात्रा गर्न निकै मुस्किल पर्छ । धार्मिक आस्थाको धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गर्छ ।
बडीमालिका क्षेत्रमा हरियाली फाँटमा भेँडा र घोडा वा खच्चडका बथान देख्न सकिन्छ । लोपन्मुख प्रजातीका वन्यजन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदिङ पनि भेटिन्छन । बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहिआएको छ ।
बुढिनन्दा ताल : बाजुराको बुढिनन्दा नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बुढिनन्दा दिव्य भूमि हो । प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक, पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।