दोहा, कतार ।
"आपसी सहयोग सद्भाव र एकता ! सामाजिक सेवामा हाम्रो प्रतिबद्धता !!" भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको नवलपरासी सेवा समाज कतारले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै नवलपरासी जिल्लाका थप दुई विद्यालयमा अक्षयकोष स्थापना गरेको छ।
विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री एवं पोसाक प्रदान गरी पठनपाठनमा हौसला र प्रेरणा दिने पवित्र उद्देश्यले समाजले कुल दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो।
कुन-कुन विद्यालयमा भयो स्थापना?
संस्थाले जिल्लाका निम्न दुई विद्यालयहरूमा जनही रु. १,००,००० (एक लाख) को अक्षयकोष खडा गरेको छ:
१. श्री नव दिव्य ज्योति आधारभूत विद्यालय: बर्दघाट नगरपालिका वडा नं. ४, दिव्यनगर।
२. श्री राष्ट्रिय माध्यमिक विद्यालय: रामग्राम नगरपालिका वडा नं. १८, पण्डितपुर।
हस्तान्तरण कार्यक्रम
हाल वार्षिक बिदाको सिलसिलामा नेपालमा रहनुभएका संस्थाका अध्यक्ष दुर्गा हमाल ठकुरीले दुवै विद्यालयमा पुगी चेक हस्तान्तरण तथा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
चैत २६, २०८२: श्री नव दिव्य ज्योति विद्यालयमा एक लाखको चेक हस्तान्तरण गरियो।
वैशाख ९, २०८३: श्री राष्ट्रिय माध्यमिक विद्यालयमा एक लाखको चेक हस्तान्तरण गरियो।
कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष ठकुरीसँगै कार्यसमिति सदस्य गणेश बस्याल, निवर्तमान सहकोषाध्यक्ष कृष्ण क्षेत्री, सदस्यहरू भुवन पराजुली र राजु खत्रीको समेत उपस्थिति रहेको थियो।
सहभागी व्यक्तित्वहरू
दुवै विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरू ( गीता गैरे र श्री दीपक भट्टराई), विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू ऋषिराम पौडेल र सिताराम चौधरी), वडा अध्यक्ष बेदविना तिवारी, काबा वडा अध्यक्ष त्रिवेणी चौधरी, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
थप जानकारी:
नवलपरासी सेवा समाज कतारले यसअघि नै जिल्लाका ४ वटा विद्यालय र १ वटा अस्पतालमा एक-एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ। यसका साथै संस्थाले विभिन्न मानवीय र आर्थिक सहयोगका कार्यहरू निरन्तर गर्दै आएको छ।
प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिको शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको यो अतुलनीय योगदानको स्थानीय स्तरमा उच्च प्रशंसा गरिएको समाजका चन्द्र ल्हेंगे तमु र
(काबा अध्यक्ष)नर बहादुर थापाले जानकारी गराउनु भयो ।