दोहा, कतार — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् कतारले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी मे १ तारिख शुक्रबारका दिन ‘बीच क्लिनअप अभियान’ (समुद्र तट सफाइ) आयोजना गर्ने भएको छ।
DeapQatar Conservation सँगको संयुक्त सहकार्यमा कतारको प्रसिद्ध पर्यटकीय स्थल ‘अल थखिरा म्याङ्ग्रोभ्स’ (Al Thakira Mangroves) मा यो कार्यक्रम हुन लागेको हो। वातावरणलाई स्वच्छ राख्ने र नेपाली समुदायबीच एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी हुन कतारमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई एनआरएनएले हार्दिक निमन्त्रणा गरेको छ।
यस्तो छ कार्यक्रमको रूपरेखा:
मे १, शुक्रबार दिउँसो ३:५० बजेदेखि साँझ ६:०० बजेसम्म चल्ने यस अभियानका लागि मुन्ताजा पार्क (Muntaza Park) लाई मुख्य भेटघाट बिन्दु (Meeting Point) तोकिएको छ। सहभागीहरू दिउँसो २:०० बजे नै भेटघाट स्थानमा भेला हुनुपर्ने र त्यहाँबाट एनसीसी कतारले यातायातको व्यवस्था गर्ने महासचिव शिव भुजेलले जानकारी दिनुभयो।
सफाइ अभियान मात्र नभई यो कार्यक्रम परिवारसँग गुणस्तरीय समय बिताउने अवसर पनि हो। दिउँसो ५:१५ बजेसम्म सफाइ गरिसकेपछि सहभागीहरूले म्याङ्ग्रोभ्सको भ्रमण गर्ने र त्यहाँको मनोरम सूर्यास्त (Sunset) अवलोकन गर्ने कार्यक्रम रहेको छ।
सहभागीले ध्यान दिनुपर्ने कुराहरू:
सीमित सिट: कार्यक्रमका लागि अधिकतम १०० जनाको कोटा निर्धारण गरिएको छ।
सुविधा: सफाइका लागि आवश्यक ग्लोब्स (Gloves), ब्याग र पिउने पानीको व्यवस्था आयोजकले गर्नेछ।
सावधानी: सहभागीहरूलाई घामबाट बच्ने सामग्री (Sun Protection) ल्याउन र स्थानीय संस्कृति अनुसारको सभ्य पोशाक लगाउन अनुरोध गरिएको छ।
कार्यक्रम परिवारमैत्री हुनेछ, तर १८ वर्ष मुनिका बालबालिकाहरू अनिवार्य रूपमा अभिभावकसँग हुनुपर्नेछ।
प्रत्येक संस्थाबाट १ जना प्रतिनिधि सहभागी हुन अनुरोध गर्दै सहभागि हुनका लागी तलको लिङ्कमा आफ्ना विवरण भर्नहुन हार्दिक अनुरोध गरिएको आयोजकले बताएको छ ।
https://forms.gle/msqnbFy9JWR2gXqo8
कतारमा रहेर पनि आफ्नो प्रकृति र वातावरणप्रति जिम्मेवार बन्ने यो अभियानमा सक्रिय सहभागिता जनाउन महासचिव भुजेलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिल गर्नुभएको छ।