दोहा, कतार ।
कतारमा स्थापित विभिन्न नेपाली सामाजिक संस्थाहरूमध्ये सक्रिय संस्था 'कोशी प्रदेश समन्वय परिषद् कतार' ले यस वर्षको नयाँ वर्ष २०८३, किरात समुदायको मौलिक पर्व उभौली तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई एकसाथ भव्य रूपमा मनाउने घोषणा गरेको छ।
परिषद्ले कतारमा रहेका कोशी प्रदेशका विभिन्न जिल्ला संस्थाहरूसँगको संयुक्त सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो।
प्रवासमा रहेका नेपालीहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने र आफ्नो कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो संयुक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष रुद्र प्रसाद आचार्यले जानकारी गराए ।
कार्यक्रममा कोशी प्रदेशको पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। विशेष गरी किरात समुदायको साकेला नाँच र अन्य जातीय झाँकीहरू प्रदर्शन गरिनेछ। यसका साथै, कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानलाई सम्मान गर्दै श्रमिक दिवसको अवसरमा 'श्रमिक चेतना' सम्बन्धी जानकारीमूलक सत्र पनि समावेश गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा कतारमा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, व्यवसायी सहित कोशि प्रदेशका जिल्लाबाट कतारमा आएका नेपाली हरुको भब्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
परिषद्का महासचिव महेन्द्र उप्रेतीले भने, "हामीले आफ्नो नयाँ वर्ष र संस्कृतिलाई मात्र होइन, हाम्रो अस्तित्वसँग जोडिएको श्रमिक दिवसलाई पनि सँगै मनाउन लागेका हौं। यसले प्रवासमा हाम्रो एकता र पहिचानलाई अझ बलियो बनाउनेछ।"
कार्यक्रम आगामी शुक्रवार, मे १ तारिखका दिन सनैया स्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न हुने छ ।
कोशी प्रदेश समन्वय परिषद्ले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा सहभागी भई शोभा बढाइदिन समेत हार्दिक अनुरोध गरेको छ।