दोहा, कतार
नेपाली प्रवासी श्रमिक संघ (GEFONT) सहयोग समूह कतारले ‘प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सहितको मर्यादित काम, शान्ति र सुरक्षायुक्त कार्यस्थल हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ। मे १, २०२६ शुक्रबारका दिन ग्रान्डमलस्थित फाल्गुनी रेष्टुरेन्टमा एक विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो।
जि.एस.जी. कतारका अध्यक्ष समुन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई कार्यसमिति सदस्य गुमान सिंह खत्रीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको सुरुमा श्रमिक विभाग सह-संयोजक मोतीलाल बुढामगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा जि.एस.जी. कतारका पूर्व अध्यक्ष भीम तरामु मगरले संस्थाको स्थापना, मे दिवसको ऐतिहासिक महत्व र वर्तमान अवस्थामा श्रमिकहरूले भोग्नुपरेका समस्याहरूबारे प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथिको रूपमा बोल्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेलले प्रवासी नेपाली मञ्च सधैँ मजदुरहरूको हक र अधिकारका लागि दृढताका साथ उभिने बताउनुभयो। उहाँले जि.एस.जी.ले उठाएका श्रमिकका मुद्दाहरूमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजसेवी केशव कार्की, प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटी सल्लाहकार जियाबाबु खान, एन.आर.एन.ए. संघ-संस्था समन्वय विभाग सदस्य केबी हमाल, ज्ञान सीप तथा प्रविधि विभागका निवर्तमान सदस्य हंसराज ढकाल र प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चूडामणि कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
अन्त्यमा, सभापति एवं अध्यक्ष समुन्द्र खड्काले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै श्रमिकहरूको अधिकार सुनिश्चित नभएसम्म अभियान जारी रहने बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो।