दोहा, कतार ।
कोशी प्रदेश समन्वय परिषद् कतारले नयाँ वर्ष २०८३, अन्तर्राष्ट्रिय श्रमिक दिवस, तथा किरात समुदायको पर्व उभौलीलाई एउटै भव्य समारोहका बीच मनाएको छ। नेपाली मौलिकता र श्रमिक ऐक्यवद्धतालाई दर्शाउन आयोजित 'शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम' मा कतारमा कार्यरत कोशी प्रदेश लगायत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
परिषद्का अध्यक्ष रुद्र शर्मा आचार्यको सभापतित्व तथा संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक संयोजक चूडामणि कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेश लगायत नेपाली सांस्कृतिक विविधतालाई उजागर गरिएको थियो।
प्रमुख अतिथि कार्कीले नेपालको बहुसांस्कृतिक पहिचानको चर्चा गर्दै कोशी प्रदेशलाई 'विविधताभित्रको सुन्दर फूलबारी' को संज्ञा दिए। उनले भने, "हाम्रो व्यक्तिगत विचार र साइनो फरक भए पनि यो परिषद् एउटा साझा घर हो।" मे दिवसको अवसरमा शुभकामना दिँदै उनले थपे, "पद जे भए पनि पसिना बगाउने हामी सबै श्रमिक हौं, त्यसैले श्रमको सम्मान नै हाम्रो पहिलो धर्महो।"
कार्यक्रममा विभिन्न जिल्लाका कलाकारहरूले नेपाली पहिचान झल्किने नृत्य तथा सांगीतिक प्रस्तुतिहरू दिएका थिए। परदेशमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने कलाकारहरूको प्रयासलाई सहभागीहरूले प्रशंसा गरेका थिए।
महासचिव महेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीम रसाइलीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले सहभागी र सहयोगी सबै जिल्लागत संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।