दोहा, कतार
दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारमा देखिएको फुट अन्त्य भई संस्था एकजुट भएपछि कतारस्थित नेपाली नियोग र समग्र नेपाली समुदायले राहत महसुस गरेको बताउनु भएको छ ।
एनआरएनए कतारको एकता घोषणा कार्यक्रममा बोल्दै कतारका लागि नेपाली कार्यवाहक राजदूत कुमार राईले एनआरएनए एकजुट हुँदा नेपाली समाजसँगै दोहास्थित दूतावास पनि निकै खुसी भएको बताउनुभएको हो
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यवाहक राजदूत राईले विगतमा एनआरएनए कतारभित्रको विभाजनका कारण दूतावासले ठुलो व्यावहारिक कठिनाइ भोग्नुपरेको स्मरण गर्नुभयो। "उहाँहरू फुट्दा दूतावासको टाउको दुखाइ नै भएको थियो। परराष्ट्र मन्त्रालयमा दर्ता भएको र मन्त्रालयको निर्देशन अनुसार चल्ने एकमात्र नेपाली संस्था भएकाले कस्लाई आधिकारिक मान्ने र कसरी सहकार्य गर्ने भन्नेमा अन्योल थियो," राईले भन्नुभयो, "तर आजको सुखद एकतासँगै अब दूतावास र एनआरएनए कतारबिचको सहकार्यले निरन्तरता पाउनेछ।"
कार्यवाहक राजदूत राईले हाल कतारमा कतिपय कम्पनीहरू आर्थिक संकटबाट गुज्रिरहेको र केही नेपाली श्रमिकहरूले नियमित रूपमा पारिश्रमिक नपाएको विषम परिस्थितितर्फ ध्यान आकर्षण गराउनुभयो। यस्तो अवस्थामा नेपाली समुदायको अभिभावक संस्थाको रूपमा एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
कतारसँगको द्विपक्षीय सम्बन्ध र लगानीबारे चर्चा गर्दै राईले केही समयअघि मात्रै आफूले कतारको परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूसँग भेटघाट गरेको जानकारी दिनुभयो। भेटका क्रममा आफूले नेपालमा पर्यटन र जलविद्युतको ठुलो सम्भावना रहेको भन्दै कतारी लगानीका लागि अनुरोध गरेको तर कतारी पक्षले लगानीको सुरक्षा र केही व्यावहारिक कठिनाइका कारण तत्काल लगानी गर्न नसकिरहेको कुरा राखेको उहाँले प्रस्ट पार्नुभयो।
मध्यपूर्वको हालको अप्ठ्यारो परिस्थितिमा पनि दूतावासले नेपाली समुदायसँग मिलेर समस्यामा परेका नेपालीहरूलाई निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता राजदूत राईले व्यक्त गर्नुभयो।
नेपाली श्रमिक र सेवाग्राहीको हितलाई ध्यानमा राख्दै दूतावासले आफ्नो कार्यसमय समेत थपेको छ। "पहिले कार्यालय समय ४ बजेसम्म मात्र रहेकोमा अबदेखि दूतावास साँझ ५ बजेसम्म खुल्नेछ," राईले भन्नुभयो, "दूतावास भनेको नेपाली समुदायको सहयोगका निम्ति नेपाल राज्यको प्रतिनिधित्व गर्ने साझा घर हो।"
कतारमा रहेका नेपाली दाजुभाइहरूको अझै धेरै क्षमता र भावना प्रकट हुन बाँकी रहेको भन्दै कार्यवाहक राजदूत राईले एकजुट भएको एनआरएनएमार्फत आगामी दिनमा कतारमा रहेका नेपालीहरूको समस्या समाधानमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एनआरएनए कतारको अध्यक्षमा कृष्ण पन्थी र पदम गिरिको नेतृत्व रहेको थियो । अब एकतापछि पन्थीको नेतृत्व रहने छ । भने अन्य कार्यसमिती यथावत रहने छन ।