दोहा, कतार ।
प्रवासी नेपाली मञ्च कतारको आयोजनामा ३३औँ मदन–आश्रित स्मृति दिवस भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जननेता मदन भण्डारी तथा कुशल संगठनकर्ता जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र श्रमिक नेपालीहरूको हक–हित संरक्षणका लागि पुर्याउनुभएको ऐतिहासिक योगदानको स्मरण गरिएको थियो। साथै, उहाँहरूको विचार, संघर्ष र आदर्शलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि चानक पोख्रेलले मदन–आश्रितद्वारा स्थापित 'जनताको बहुदलीय जनवाद' (जबज) नेपाली कम्युनिष्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गर्नुभयो। उहाँले प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई संगठित, सचेत र एकताबद्ध बनाउन प्रवासी नेपाली मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
त्यसैगरी, मञ्चका अध्यक्ष चुडामणि कार्कीले मदन–आश्रितको राजनीतिक योगदान र त्यागको चर्चा गर्दै उहाँहरूले देखाएको विचार, अनुशासन र संगठनात्मक संस्कारलाई वर्तमान पुस्ताले व्यवहारमा उतार्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
मञ्चका उपाध्यक्ष अफसर अलि खानले स्वागत मन्तव्य राख्दै जननेता मदन भण्डारी र जीवराज आश्रितको जीवनीबारे प्रस्ट पार्नुभएको थियो। कार्यक्रममा उपस्थित विभिन्न सहभागीहरूले मदन–आश्रितको जीवन संघर्ष, वैचारिक योगदान तथा नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँहरूको ऐतिहासिक भूमिकाबारे आफ्ना धारणाहरू राख्नुभएको थियो।
कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष प्रभात त्रिपाठी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका विभागीय सदस्यहरू केबी हमाल, भेषराज पराजुली तथा तेज कटुवाल, जिफन्ट कतारका अध्यक्ष समुन्द्र खड्का, र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष कृष्ण ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
शुभकामना मन्तव्य राख्ने वक्ताहरूले मदन–आश्रितले अघि सार्नुभएको 'जबज' को सिद्धान्त, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन खेलिएको ऐतिहासिक भूमिकामाथि प्रकाश पारेका थिए। उहाँहरूले मदन–आश्रितको वैचारिक मार्गदर्शन आजको परिवर्तित राजनीतिक परिवेशमा समेत उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।
राष्ट्र, लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि उहाँहरूको विचारलाई व्यवहारमा उतार्दै संगठनलाई अझ सुदृढ, गतिशील र एकताबद्ध बनाउनुपर्नेमा वक्ताहरूको जोड थियो। साथै, प्रवासमा रहेका नेपालीहरूलाई मातृभूमिप्रतिको जिम्मेवारी र राष्ट्रिय हितका पक्षमा अझ सक्रिय भएर लाग्न समेत कार्यक्रममा आह्वान गरिएको थियो।
विभिन्न व्याक्तित्व हरुले मदन–आश्रितको जीवन संघर्ष र वैचारिक योगदानबारे आफ्ना धारणाहरू राख्नुभएको उक्त कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।