दोहा : मिर्गौला रोगबाट पीडित रूपा लामाको उपचार र जीवन रक्षाका लागि सञ्चालित "रूपा लामा बचाऊ अभियान" मा कतारमा रहेका नेपालीहरूले ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गरेका छन्।
'दाङसिङ युवा सेवा समाज तार्केश्वर, कतार' र कतारमै रहेका मनकारी नेपालीहरूको व्यक्तिगत पहलबाट सङ्कलन गरिएको कुल १,२७१ कतारी रियाल (नेपाली रुपैयाँ ५२,३६६) पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
कतारबाट संकलन भई आएको उक्त रकम दाङसिङ युवा सेवा समाजका केन्द्रीय सदस्य प्रेम बहादुर तामाङले पीडित रूपा लामालाई उनकै निवासमा भेटेर हस्तान्तरण गर्नुभएको हो। सो क्रममा केन्द्रीय सदस्य तामाङले संस्थाको तर्फबाट रकम बुझाउँदै व्यक्तिगत तर्फबाट समेत थप १,००० नेपाली रुपैयाँ पीडितलाई नगद सहयोग प्रदान गर्नुभयो।
यो अभियानलाई सफल बनाउन कतारमा रहनुहुने तुल बहादुर तामाङ र जित सेन्तेनले विशेष पहल गर्नुभएको थियो। उहाँहरूकै सक्रियताका कारण प्रवासमा रहेर पनि नेपालीहरू दुःखमा परेका चेलीको घाउमा मलम लगाउन अघि सरेका हुन्।
सहयोग रकम प्राप्त भएपछि अभियानका प्रतिनिधि तथा पीडित परिवारले मानवीय कार्यमा जुट्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार प्रकट गरेका छन्।
"यस मानवीय अभियानमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण 'दाङसिङ युवा सेवा समाज कतार' परिवार तथा देश-विदेशमा रहनुहुने सहयोगी मनहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। यहाँहरूको सानो सहयोग, माया र साथले पीडित परिवारमा ठूलो आशा र साहस जगाएको छ। मानवता र सहयोगको यो पवित्र भावना सधैं कायम रहोस्," अभियानका तर्फबाट कृतज्ञता व्यक्त गर्दै भनिएको छ।
गम्भीर बिरामी परेकी रूपा लामाको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको बेला कतारबाट प्राप्त यो सहयोगले उनको उपचारमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।