दोहा, कतार ।
"आपसी सहयोग सद्भाव र एकता ! सामाजिक सेवामा हाम्रो प्रतिबद्धता !!" भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको नवलपरासी सेवा समाज कतारले आफ्नो चौथो अधिवेशन गर्ने भएको छ । समाजले आगामी २९ मे २०२६, शुक्रबारका दिन चौथो अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
स्थापना कालदेखि नै कतारमा रहेका नेपाली श्रमिकहरूको हकहित र चेतनामूलक कार्यमा सक्रिय यो संस्थाले कतारमा मात्र नभई मातृभूमि नेपालमा पनि विभिन्न परोपकारी कार्यहरू गर्दै आइरहेको छ । संस्थाले विगतमा नेपालका विभिन्न विद्यालयहरूमा शैक्षिक सहयोगार्थ अक्षयकोष स्थापना, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, विभिन्न विपद्का समयमा राहत सामग्री वितरण जस्ता सराहनीय सामाजिक कार्यहरू सञ्चालन गरिसकेको छ ।
कतारलाई आफ्नो कर्मथलो बनाउँदै आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यस चौथो अधिवेशनसँगै कतारमा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकको तयारी छ ।
कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको र कतारमा रहेका सम्पूर्ण नेपालीहरूलाई एउटै थलोमा समेटेर एकता र सामाजिक सेवाको सन्देश दिने उद्देश्य रहेको संस्थाका महासचिव चन्द्र गुरुङले बताउनुभयो ।
नवलपरासी सेवा समाज कतार परिवारले एक सूचना जारी गर्दै कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा आम नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनका लागि हार्दिक अनुरोध गरेको अध्यक्ष दुर्गा हमाल ठकुरीले बताउनु भयो ।
कार्यक्रमको विवरण:
मिति: २९ मे २०२६, शुक्रबार
समय: दिनको १२:३० बजेदेखि सुरु
स्थान: वेलफेयर रेष्टुरेन्ट, एसियन सिटी प्लाजामल, कतार