झापाकी २१ वर्षीया रमा तिवारीको हत्या कसले गर्यो ? किन गर्यो ? र कहाँ गर्यो ? पाँच दिन बितिसक्दा पनि यी प्रश्नहरूको जवाफ प्रहरीले भेट्टाउन सकेको छैन । रतुवा खोलामा बोराभित्र भेटिएको शवले अहिले झापा र मोरङ मात्र होइन, देशभरका मानिसलाई स्तब्ध बनाएको छ ।
झापाको दमक–८ निवासी २१ वर्षीया रमा तिवारी हत्या प्रकरण अझै रहस्यमै रहेको छ । जेठ १६ गते बिहान मोरङ–झापा सीमास्थित रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा उनको शव फेला परेको थियो ।
स्थानीयले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोराभित्रबाट शव निकालेपछि अनुसन्धान सुरु गरिएको थियो । पछि उक्त शव दमककी रमा तिवारीको रहेको पुष्टि भयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या रतुवा खोलामा नभई अन्यत्रै गरिएको संकेत दिएको छ । प्रहरीका अनुसार शव भेटिएको स्थान ‘सेकेन्डरी लोकेसन’ हुनसक्ने देखिएको छ । अर्थात् हत्या अन्यत्र गरेर शवलाई बोरामा प्याक गरी खोलामा ल्याएर फालिएको आशंका गरिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले रमाको मोबाइल फोनको विवरण पनि अध्ययन गरिरहेको छ । प्राप्त जानकारीअनुसार उनको मोबाइलको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ भने बुधबार राति करिब ११ बजेतिर मोबाइल बन्द भएको पाइएको छ ।
यता प्रहरीले रमासँग अन्तिम पटक सम्पर्कमा रहेका व्यक्तिहरूमाथि पनि सोधपुछ गरिरहेको छ । परिवारका अनुसार उनलाई भेट्न बोलाउने एक युवक सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । यद्यपि, हालसम्म उनको संलग्नता पुष्टि हुने कुनै ठोस प्रमाण फेला परेको छैन ।
प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा शव बोक्ने, बोरामा प्याक गर्ने र खोलासम्म पुर्याउने काममा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना पनि अनुसन्धानको दायरामा रहेको छ ।
यसैबीच सामाजिक सञ्जालमा विभिन्न अनुमान र अपुष्ट दाबीहरू फैलिन थालेका छन् । प्रहरीले यस्ता सामग्रीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आधिकारिक पुष्टि नभएसम्म कसैलाई दोषी नठहराउन आग्रह गरेको छ ।
कानुनविद्हरूले समेत हत्या जस्ता संवेदनशील घटनामा सामाजिक सञ्जालको दबाबभन्दा वैज्ञानिक अनुसन्धान, डिजिटल प्रमाण, फरेन्सिक रिपोर्ट र साक्ष्यलाई आधार बनाउनुपर्ने बताएका छन् ।
अहिले रमा तिवारीको परिवार न्यायको प्रतीक्षामा छ । छोरीको हत्या कसले र किन गर्यो भन्ने प्रश्नको उत्तर खोजिरहेको परिवारसँगै सम्पूर्ण स्थानीयवासी पनि सत्य बाहिर आउने आशामा छन् ।
तर मुख्य प्रमाणको खोजी अझै जारी रहेकाले रमा तिवारी हत्या प्रकरण अहिले पनि अनेक प्रश्नहरूको घेरामा छ । अब प्रहरी अनुसन्धानले यो रहस्य कहिले र कसरी खोल्छ ? सबैको नजर त्यतैतर्फ केन्द्रित छ ।