आकांक्षा धामी, नेपाल न्यूज बैंक
काठमाडौं । गैह्रीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ ।
हास्यव्यंग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत पहिलोपटक औपचारिक रूपमा रंगमञ्चमा उभिएका छन् । तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।
उनका अनुसार एकल प्रस्तुतीकरणमा कलाकार अपेक्षाकृत स्वतन्त्र हुन्छन् । तर नाटकमा पात्र, प्रकाश, ध्वनि, निर्देशन र सहकलाकारसँगको समन्वयले प्रस्तुति सफल बनाउँछ ।
हामीले एकलव्यको औंला चढाउने त्यागलाई मात्रै देख्यौं, तर त्यो निर्णय गर्न उनी किन बाध्य भए भन्ने पक्ष कम चर्चा गरियो,’ उनले भने । नाटकले यही प्रश्नलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेको उनको भनाइ छ ।
नाटकले आजको समाजमा अझै जीवित रहेका जातीय पूर्वाग्रहहरूलाई पनि उजागर गर्ने प्रयास गरेको छ । बाहिरबाट समानताको कुरा गर्ने तर व्यवहारमा विभेद कायम राख्ने प्रवृत्तिमाथि यसले प्रहार गरेको कलाकारहरूको बुझाइ छ ।
निर्देशक नवीन भट्टको काम गर्ने शैलीको समेत प्रशंसा गर्दै गजुरेलले नाटकलाई कलाकारमैत्री वातावरणमा तयार गरिएको बताए । कलाकारहरूको क्षमता र शैलीलाई सम्मान गर्दै निर्देशन गरिएको उनको अनुभव छ । कान्तिपुर थिएटरमा मञ्चन भइरहेको ‘महाभारत’ले महाभारतकालीन पात्रहरूको पुनर्पाठमार्फत समकालीन समाजका जटिल प्रश्नहरू दर्शकमाझ राख्ने प्रयास गरेको छ ।