काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ।
महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको मर्यादा कायम नभएको निहुँमा अन्य विकल्पमा नगएर मोबाइल जफत गरी नष्ट गर्ने कार्य गर्नुलाई जायज मान्न नसकिने बताउँदै सो घटनाको सत्यतथ्य छानबिन गरि विद्यार्थीहरुलाई न्याय दिन माग गरेको छ।
यस्तै पानीमा डुबाउँदैमा ती मोबाइलका चिप्स नष्ट नहुने र त्यसका लागि नेपालमा कुनै विधि नभएको हुँदा डाटा चोरी हुनसक्ने जोखिम रहेको पनि महासंघले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
‘मोबाइल फोनको सन्दर्भमा हाम्रो आफ्नो उत्पादन क्षमता नभएको र अन्तर्राष्ट्रिय बजारबाट आयातमा नै निर्भर रहनुपर्ने अवस्थामा यो घटनाले नेपालीलाई थप आर्थिक भार थोपर्ने हाम्रो बुझाइ छ।
महासंघले ती मोबाइलको मूल्य १ करोड भन्दा बढी हुन आउने र त्यसले देशको अर्थतन्त्रलाई समेत घाटा बनाएको दाबी गरेको छ।
यसैगरी महासंघले प्रयोग भइसकेका मोबाइल फोनहरुको दोस्रो विक्री (सेकेन्ड ह्यान्ड) कारोबारलाई वैध बनाउन पनि सरकारसँग माग गरेको छ। यसो गर्दा निश्चित रकम सरकारको राजश्वमा जम्मा हुने विधि अपनाउन सकिने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने हुँदा देशको ठूलो धनराशि जोगिने महासंघको दाबी छ। यस्तो अभ्यास विदेशका केही मुलुकमा रहेको पनि महासंघले बताउँदै आइरहेको छ।
सिराहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लिएर परीक्षा हलभित्र प्रवेश गरेका विद्यार्थीहरूबाट सातवटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँचवटा स्मार्टवाच खोसिएको थियो। यस्तै यी सामग्री जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेकोथियो।