काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ शहर आयोजकका रूपमा रहेका छन् । उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ ।
घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ । रोचक पक्ष के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति जस्तै बनेको छ ।
मेक्सिकोको टोलीबाट रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेजले खेल्नेछन भने दक्षिण अफ्रिकाको टोलीबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिसले खेल्ने तालिका तय भएको छ ।
भरिभराउ रंगशाला, विश्वभरका करोडौं दर्शक र नयाँ इतिहास लेखिने अपेक्षाबीच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पर्दा उठ्दैछ । मेक्सिकोले घरेलु समर्थकसामु विजयी सुरुआत गर्ने प्रयास गर्नेछ भने दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमै उल्टो नतिजा निकाल्ने लक्ष्य राखेको छ ।