दोहा, कतार ।
पाल्पाली सेवा समाज दोहा-कतारको आयोजनामा एक विशेष 'व्यक्तित्व विकास तथा उद्घोषण तालिम' सफलतापूर्वक सम्पन्न भएको छ। गत १२ जुन २०२६ शुक्रबारका दिन एनखालीदस्थित नमस्ते एसियन नेपाली रेष्टुरेन्टको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
समाजका अध्यक्ष विकास गैरे (विक्की) को सभापतित्व तथा समाजका प्रमुख संरक्षक महल केसीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।
प्रभावकारी प्रशिक्षण र प्रत्यक्ष अभ्यास
तालिममा व्यावसायिक जीवनमा सफल मानिएका सामाजिक व्यक्तित्व सूरज कुँवर अतिथिका रूपमा आमन्त्रित हुनुहुन्थ्यो, जसले सहभागीहरूलाई व्यक्तित्व विकाससम्बन्धी महत्त्वपूर्ण प्रशिक्षण दिनुभयो। त्यस्तै, समाजका अध्यक्ष विकास गैरे (विक्की) ले उद्घोषण कला, सार्वजनिक प्रस्तुति र नेतृत्व क्षमता अभिवृद्धिबारे सिकाउँदै सहभागीहरूलाई प्रत्यक्ष अभ्यास समेत गराउनुभएको थियो।
तालिममा सहभागीहरूले यसबाट नयाँ ज्ञान र सीप सिकेको भन्दै खुसी व्यक्त गरे। पहिले सार्वजनिक रूपमा बोल्न डर लाग्ने गरेको तर यो तालिमपछि आफूमा केही गर्न सक्ने आत्मविश्वास पलाएको प्रतिक्रिया सहभागीहरूले दिएका थिए।
सन् २००७ मा "निस्वार्थ समाजसेवा आजको आवश्यकता" भन्ने मूल नाराका साथ स्थापित पाल्पाली सेवा समाजले विभिन्न सामाजिक कार्य गर्दै आए पनि कार्यसमितिकै हितका लागि गरिएको यो पहिलो र उत्कृष्ट कार्यक्रम भएको भन्दै संस्थाका पदाधिकारीहरूले नेतृत्वको प्रशंसा गरे।
नयाँ र समाजका कार्यसमितिहरूको हितका लागि पहिलो र उत्कृष्ट कार्यक्रम गरेको भन्दै समाजका सम्मानित संरक्षक लिलम चिदी मगरले समाज र नेतृत्वको खुलेरै प्रशंसा गर्नुभएको थियो। चिदीले थप्दै, यस्ता किसिमका कार्यक्रमले आगामी संस्था सञ्चालनका निम्ति अब्बल नेतृत्व पनि जन्मने भन्दै धन्यवाद र बधाई पनि दिनुभएको थियो।
त्यस्तै आफ्नो मन्तव्य राख्दै संस्थाका प्रमुख सल्लाहकार विश्वनाथ भट्टराईले आफ्ना जीवनका घटनाहरू सुनाउँदै आत्मविश्वासले नै मानिसलाई सही र सकारात्मक बाटोमा लैजाने र सोही बाटोले व्यक्तिलाई सबल बनाउने भन्दै नेतृत्व उत्पादनमा यो तालिमले अहम् भूमिका खेल्ने बताउनुभएको थियो।
कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष विकास गैरेले आफू अध्यक्ष निर्वाचित भएकै दिन प्रत्येक तीन महिनामा यस्ता क्षमता विकासका कार्यक्रम गर्ने घोषणा गरेको स्मरण गराउनुभयो। यो सोही श्रृंखलाको दोस्रो अभ्यास भएको जानकारी दिँदै उहाँले भन्नुभयो:
"मेरो कार्यकालमा कम्तीमा ३ जनालाई प्रखर वक्ताको रूपमा समाजमा खडा गर्न सकेँ भने मात्र म आफ्नो कार्यकाल सफल भएको महसुस गर्नेछु। यो कार्यक्रमको उत्साहले मलाई आगामी दिनमा थप कार्यक्रम गर्न प्रेरणा मिलेको छ।"
उहाँले कार्यक्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजकी महिला उपाध्यक्ष धना कुमारी श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको सफल सहजीकरण समाजका महासचिव हिरालाल बस्यालले गर्नुभएको थियो।