दोहा, कतार ।
‘मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबन्द होऔं’ भन्ने मूल नाराका साथ स्थापित रोल्पाली सेवा समाज कतार शाखाको चौथो अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम आगामी जुन १९ तारिख, शुक्रबार आयोजना हुने भएको छ। सन् २००० (वि.सं. २०५७) मा स्थापना भई कतारमा रहेका नेपाली समुदायमाझ सामाजिक कार्यमा सक्रिय यस समाजले आफ्नो नयाँ कार्यसमिति चयनका लागि चौथो अधिवेशन गर्न लागेको हो।
कतारको सनैयास्थित फूलबारी रेस्टुरेन्टमा मध्यान्ह १२:०० बजे देखि सुरु हुने उक्त कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नका लागि संस्थाले कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाका प्रमुख, प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ। यस कार्यक्रमका बारेमा समाजका अध्यक्ष गोपाल डाँगीले आधिकारिक जानकारी गराउनुभएको हो।
अध्यक्ष डाँगीका अनुसार अधिकांश संघ–संस्था तथा व्यक्तिहरूलाई निमन्त्रणा पत्र पठाइसकिएको र प्राविधिक वा अन्य कारणवश पत्र प्राप्त गर्न नसकेका बुद्दिजीवी तथा महानुभावहरूले यसै समाचारलाई आधिकारिक निमन्त्रणा मानी कार्यक्रममा सहभागी भइदिन अनुरोध गरिएको छ।
साथै, उक्त दिन कतारमा क्रियाशील अन्य कुनै पनि नेपाली संघ–संस्थाहरूले आफ्ना औपचारिक कार्यक्रमहरू नजुधाइदिनु हुन समेत महासचिव केशर खनालले रोल्पाली सेवा समाज कतार शाखाको तर्फबाट हार्दिक अपिल गर्नुभएको छ।
कार्यक्रमको विवरण:
कार्यक्रम: चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम २०२६
मिति: २०२६ जुन १९, शुक्रबार
समय: मध्यान्ह १२:०० बजेदेखि
स्थान: फूलबारी रेस्टुरेन्ट, कतार