दोहा, कतार
१९ जुन, २०२६
प्रवासी नेपाली मञ्च कतारले संगठन सुदृढीकरण र आगामी कार्ययोजना तय गर्ने उद्देश्यका साथ कतारमा एक विशेष कार्यकर्ता भेटघाट, संगठित सदस्यता भेला तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचीव चानक पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो।
कतारस्थित मञ्चका उल्लेखनीय सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त भेलामा संगठनलाई अझ सुदृढ, गतिशील र प्रभावकारी बनाउँदै लैजान आवश्यक रणनीति तथा सुझावहरूमाथि व्यापक छलफल भएको थियो।
संगठन विस्तार र भावी कार्ययोजनामा जोड
अन्तरक्रियाका क्रममा सहभागी सदस्यहरूले संगठन विस्तार, सदस्यता नवीकरण तथा आगामी कार्ययोजना सम्बन्धी विषयमा आफ्ना महत्त्वपूर्ण धारणाहरू राखेका थिए। मञ्चलाई अझ बलियो, एकताबद्ध र क्रियाशील बनाउन सबै सदस्यहरू सामूहिक रूपमा एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा सहभागीहरूले विशेष जोड दिएका थिए।
कार्यक्रममा मञ्चका नेतृत्वदायी व्यक्तित्वहरूले संगठनको गरिमा र यसको भविष्यबारे आफ्ना भनाइहरू राख्नुभएको थियो:
संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष प्रभात त्रिपाठी, र मध्यपूर्व कमिटी सदस्य चाहानिलाल राजवंशीले संगठनलाई थप सुदृढ बनाउन एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो।
सल्लाहकार परिषद्का उपाध्यक्ष बालकृष्ण भित्रीकोटी र निवर्तमान सल्लाहकार सागर नेपाल लगायतले कार्यक्रमको सफलताको कामना गर्दै संगठनको हितमा सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा अन्तर्राष्ट्रिय कमिटीका सचीव चानक पोख्रेलले पार्टीको वैचारिक दृष्टिकोण, वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। उहाँले सङ्गठन अझ एकताबद्ध, सशक्त र जनमुखी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
"प्रवासी नेपालीहरूको बीचमा मञ्चलाई थप स्थापित गर्दै सामाजिक तथा रचनात्मक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। प्रवासी नेपाली मञ्चलाई विश्वभरकै उत्कृष्ट प्रवासी संगठनका रूपमा विकास गर्न कतार कमिटीको भूमिका महत्त्वपूर्ण रहने बिश्वास व्याक्त गर्नुभयो ।
कार्यक्रमको सुरुमा मञ्चका उपाध्यक्ष भीम तरामु मगरले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो। त्यस्तै, मञ्चका उपाध्यक्षद्वय अफसर अली खान र टिका कार्कीले पनि संगठनको गतिशीलता र कतारमा रहेका नेपालीहरूका सवालमा आफ्ना मन्तव्यहरू राख्नुभएको थियो।
कार्यक्रमको पूर्ण सहजीकरण मञ्चका सचिव शेषराज तिमिल्सिनाले कुशल ढंगले गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष चुडामणि कार्कीले व्यस्तताका बाबजुद उपस्थित हुनुभएका सम्पूर्ण सङ्गठनका साथीहरु, अतिथिहरू तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भेलाबाट आएका रचनात्मक सुझावहरूलाई आत्मसाथ गर्दै कतार मञ्चलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धताका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको थियो।