तिलविक्रम थेवे, दोहा (कतार)
नेपाली महिला समाज कतारले आफ्नो १५औँ स्थापना दिवसको अवसर पारेर संस्थाको छैटौं अधिवेशन आगामी जुन २६, २०२६ (असार १२ गते, शुक्रबार) आयोजना गर्ने भएको छ। अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संस्थाले जनाएको छ।
आयोजक संस्थाका अनुसार मुन्ताजास्थित होटल होलिडे भिल्लाको इमरल्ड हलमा दिउँसो २ बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ।
कार्यक्रममा प्रमुख अतिथिबाट अधिवेशनको ब्यानर अनावरण, दीप प्रज्वलन तथा स्थापना दिवसको केक काटेर समारोहको उद्घाटन गरिनेछ। साथै कतारस्थित विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार तथा नेपाली समुदायका विभिन्न तह र तप्काका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
राष्ट्रिय गान तथा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरी सुरु हुने कार्यक्रममा विभिन्न संघ–संस्था, प्रदेश समन्वय समिति, वैचारिक संगठन तथा जातीय संस्थाका प्रतिनिधिहरूले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ।
नेपाली महिला समाज कतारले अधिवेशनमा सहभागी हुन सम्बन्धित सबै व्यक्ति तथा संस्थाहरूलाई औपचारिक निमन्त्रणा गरिसकेको जनाएको छ।
छैटौं अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।
“नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नाराका साथ सन् २०१२ (वि.सं. २०६९) मा कतारमा स्थापना भएको नेपाली महिला समाज कतार नेपाली महिला दिदीबहिनीहरूको प्रतिनिधिमूलक सामाजिक संस्था हो।
संस्थाले स्थापनाकालदेखि हालसम्म, वर्तमान अध्यक्ष माया केसीको नेतृत्वमा आइपुग्दा कतारमा कार्यरत नेपाली महिलाहरूका विविध समस्या समाधानमा सहयोग, समन्वय र सहकार्य गर्दै आएको छ। साथै नेपाली समुदाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरी समय–समयमा सचेतना, अभिमुखीकरण तथा जनजागरणमूलक कार्यक्रम सञ्चालन गर्दै नेपाली महिलाहरूमा चेतना अभिवृद्धि गर्ने र सुरक्षित वैदेशिक रोजगारका लागि निरन्तर काम गर्दै आएको छ।