दोहा, कतार
प्रवासमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विश्वकर्मा समाज कतारले 'कलाकार सम्मान तथा सृजना प्रतिभा प्रस्तुति कार्यक्रम–२०२६' भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रवार दोहाको गोर्खाली रेस्टुरेन्टमा आयोजित उक्त विशेष समारोहमा कतारलाई कर्मथलो बनाएर नेपाली कला, संस्कृति र सिर्जनात्मक क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका स्रष्टाहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकार तथा दलित एवं गैर-दलित समुदायका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो। कला क्षेत्रमा उल्लेखनीय भूमिका खेल्ने प्रतिभाहरूलाई समाजको तर्फबाट सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।
समारोहमा कलाकारहरूले आफ्ना विविध सिर्जनात्मक प्रतिभा, गायन तथा आकर्षक नृत्यहरू प्रस्तुत गरेर हलमा उपस्थित दर्शकलाई मनोरञ्जन गराएका थिए। कार्यक्रमका वक्ताहरूले यस्ता रचनात्मक गतिविधिले प्रवासमा नेपाली पहिचान जोगाउन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्न ठुलो मद्दत पुग्ने भन्दै यसको निरन्तरतामा जोड दिए।
परियार मित्रता समाजका प्रमुख संरक्षक ठाकुरकुमार परियारले व्यक्तित्व र व्यवहार सुधारसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनले जातीय सद्भाव, सामाजिक एकता र आपसी सम्मानलाई सुदृढ बनाउन सामाजिक सञ्जालमार्फत कुनै पनि समुदायप्रति अपमानजनक अभिव्यक्ति नदिन आग्रह गरे। उनले विगतमा कलाकार तथा पत्रकारहरूको श्रमको उचित मूल्याङ्कन नहुने अवस्था रहेको उल्लेख गर्दै उनीहरूको श्रम, योगदान र पेसागत सम्मानको कदर गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले दलित समुदायबिच एकता आवश्यक रहेको बताउँदै एकताबाटै हक, अधिकार र अवसर सुनिश्चित गर्न सहज हुने धारणा व्यक्त गरे। त्यसै गरी, कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले सुख दुःखका हरेक अवस्थामा समुदाय र समाजको आवश्यकता रहने भएकाले सबैलाई सामाजिक संस्थासँग आबद्ध हुन आग्रह गरेका थिए।
विश्वकर्मा समाज कतारका अध्यक्ष दीपक विश्वकर्माले प्रवासको व्यस्त दैनिकीका बिच पनि नेपाली कला र संस्कृतिको संरक्षणमा खटिने कलाकारहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए। उनले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे।
सोही अवसरमा नेपाली समुदाय र कला क्षेत्रलाई सञ्चार माध्यममार्फत लगातार सहयोग पुर्याउँदै आएका कतारस्थित पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो।