दोहा, कतार ।
कतारमा रहेका संखुवासभाली दाजुभाइ तथा दिदीबहिनीहरूको साझा संस्था संखुवासभा समाज कतारद्वारा आयोजित बेसिक कम्प्युटर तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। लामो समयदेखि प्रवासमा रहेर पनि सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको संस्थाले हालै कम्प्युटर क्लासको अन्तिम परीक्षा सञ्चालन गर्नुका साथै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम समेत सम्पन्न गरेको हो।
उक्त विशेष समारोहमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई सम्मानपूर्वक प्रमाणपत्र वितरण गरिएको थियो।
उत्कृष्ट प्रशिक्षार्थीलाई ल्यापटप पुरस्कार
तालिमको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुहुने प्रशिक्षार्थी तथा संस्थाका कोषाध्यक्ष प्रकाश लिम्बुले ३६.६ अंक प्राप्त गरी सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको थियो। उहाँलाई प्रोत्साहनस्वरूप संस्थाका संरक्षक जोहेब लामाद्वारा प्रायोजन गरिएको १ थान ल्यापटप हस्तान्तरण गरिएको थियो। यस किसिमको प्रोत्साहनले आगामी दिनमा थप युवाहरूलाई सूचना प्रविधि तथा कम्प्युटर शिक्षाप्रति आकर्षित गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष बिरेन मादेन लिम्बुले विदेशमा रहेर पनि नेपाली समुदायका युवाहरूलाई सीपमूलक शिक्षा प्रदान गर्नु समयको माग र आवश्यकता रहेको बताउनुभयो। साथै, उहाँले आगामी दिनहरूमा अझ प्रभावकारी र व्यवहारिक तालिमहरू सञ्चालन गरिने जानकारी समेत दिनुभयो।
नयाँ वर्ष २०८३ को भित्तेपात्रो विमोचन
यसै अवसरमा संस्थाद्वारा प्रकाशित वर्ष २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) पनि भव्य रूपमा विमोचन गरिएको थियो। संस्थाका अध्यक्ष बिरेन मादेन लिम्बूको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थाका संरक्षक तेज मोक्तान तामाङ को उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा:विशेष सल्लाहकार निरन नेपाल,
सल्लाहकारहरू: भुपाल अधिकारी, पेम्बा शेर्पा लगायत
कार्यसमिति पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी तथा कतारमा रहनुभएका संखुवासभालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथिको मन्तव्य:
प्रमुख अतिथि तेज मोक्तान तामाङले संस्थाले छोटो समयमा नै प्रवासी नेपाली समुदायबीच उदाहरणीय सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो। संस्थाको निरन्तर प्रगतिको शुभकामना दिँदै उहाँले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
भित्तेपात्रो विमोचनसँगै अध्यक्ष लिम्बुले संस्थाको वार्षिक गतिविधि, सामाजिक उत्तरदायित्व तथा समुदायप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण गरिरहनुभएका महासचिव शिब कुमार खत्रीले प्रवासको व्यस्त जीवनका बाबजुद पनि आफ्नो संस्थाप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै अघि बढिरहेको चर्चा गर्नुभयो। उहाँले संखुवासभा समाज कतारको यस रचनात्मक कार्यमा सहभागी भई कार्यक्रम सफल बनाइदिनुहुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।