दोहा, कतार : रोल्पाली सेवा समाज कतार शाखाको चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अधिवेशन बाट ईश्वरी केसी भण्डारी (चित्रा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कमल विष्ट, महिला उपाध्यक्षमा बसन्ती मल्ल, प्रथम उपाध्यक्षमा तिलक केसी तथा उपाध्यक्षमा भागिरथ खत्री चयन भएका छन् । त्यसै गरी महासचिवमा केसर खनाल, सचिवमा चैनसिंह घर्ती मगर, महिला सचिवमा प्रतीक्षा दसौँदी राना र सबिता भण्डारी, कोषाध्यक्षमा माया केसी तथा सह-कोषाध्यक्षमा कुलप्रसाद डाँगी चयन भएका छन् । सदस्यहरूमा हस्तमाली डाँगी, शिवराम खड्का, लीलामणि खड्का, केवल रोकाया, धनराज परियार, रेखीराम खड्का, सरस्वती खड्का, दिलमाया घर्ती मगर, गीता ओली, पहलमान घर्ती मगर, मनोज डाँगी, बेग बहादुर विष्ट तथा वीणा रोका मगर रहेका छन् ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई रोल्पा जलजला समाज कतारका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक बलराम जैसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
समाजका अध्यक्ष गोपाल डाँगीको सभाध्यक्षता तथा कतारका सफल व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो l
समाजका निवर्तमान अध्यक्ष गोपाल डाँगीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कतारका सफल व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमको विधिवत् उद्घाटनपछि समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल विष्टले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गरेका थिए भने समाजका महासचिव केशर खत्रीले कार्यक्रमको सहजीकरणसहित ३ वर्षे लामो कार्यकालको प्रतिवेदन पेस गरेका थिए l
त्यसै गरी ईश्वरी भण्डारीले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमका वक्ताहरूले प्रवासमा नेपालीहरूबीचको एकता र सद्भाव बढाउन संस्थाको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे। उनीहरूले रोल्पा जिल्लाले नेपालको राजनीतिक परिवर्तन, जनयुद्ध र ऐतिहासिक आन्दोलनमा पुर्याएको विशिष्ट योगदानको चर्चा समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले "वैदेशिक रोजगारीमा रहेका ३० लाखभन्दा बढी नेपालीहरूको श्रम, सीप र पुँजीको सही सदुपयोग हुन नसक्दा देशले सोचेजस्तो विकास गर्न नसकेको बताए । प्रवासी नेपालीका समस्यालाई नजिकबाट नबुझ्ने नेतृत्वका कारण हाम्रा मुद्दाहरू दशकौँदेखि ओझेलमा परेका छन् शर्माले जानकारी गराए । अब हामी रेमिट्यान्स पठाउने वर्ग मात्र नभएर देशको नीति निर्माण र विकासको निर्णायक शक्ति बन्नुपर्छ भन्ने कुरामा" प्रमुख अतिथि शर्माले जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि लगायतलाई सम्मान गरिएको थियो भने साङ्गीतिक प्रस्तुति दिएका विभिन्न कलाकारहरूलाई नगद पारिश्रमिक सहित सम्मान प्रदान गरिएको थियो । साथै, कतारमा रहेर नेपाली समुदायका गतिविधिहरूलाई निरन्तर रूपमा समाचारमार्फत उजागर गर्दै आएका विभिन्न सञ्चारकर्मी तथा पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।
अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष डाँगीलेसंस्थाको यात्रामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै हातेमालो गरेर अघि बढ्न अपिल गरे ।