तिलविक्रम थेवे, दोहा (कतार)
“लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित किरात याक्थुङ चुम्लुङ कतारको १३औँ अधिवेशन आगामी जुन २६, २०२६ (असार १२ गते, शुक्रबार) वेलफेयर रेस्टुरेन्ट प्लाजामा आयोजना हुने भएको छ।
उक्त अधिवेशनले संस्थाको आगामी २०२६–२०२८ कार्यकालका लागि नयाँ सर्वसम्मत कार्यसमिति चयन गर्नेछ।
संस्थाका वर्तमान अध्यक्ष सागर तुम्बाहाम्फेका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कतारस्थित विभिन्न सामाजिक संघ–संस्था, वैचारिक संगठन, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई समेत अधिवेशनमा आमन्त्रण गरिसकिएको उनले जानकारी दिए।
अध्यक्ष तुम्बाहाम्फेका अनुसार एसियन टाउन प्लाजास्थित वेलफेयर रेस्टुरेन्टमा बिहान ११ बजेदेखि उद्घाटन समारोह सुरु हुनेछ।
आयोजक संस्थाका अनुसार कार्यक्रममा प्रमुख अतिथिबाट अधिवेशनको ब्यानर अनावरण तथा दीपप्रज्वलन गरी समारोहको उद्घाटन गरिनेछ। कार्यक्रममा कतारस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, विभिन्न तह र वर्गका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै कतारमा रहेका सम्पूर्ण याक्थुङ/लिम्बु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा सहभागी हुन संस्थाले आग्रह गरेको छ।
महासचिव विरेन मादेनका अनुसार अधिवेशनको शुभारम्भ तागेरानिङवाफु माङको पूजा–आराधनाबाट गरिनेछ। उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ कतारका कलाकारहरूले स्वागत गीत तथा नृत्य प्रस्तुत गर्नेछन्। साथै याक्थुङ/लिम्बु समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई झल्काउने भेषभूषासहित केलाङ प्रदर्शन गरिनेछ।
उनले समयको पाबन्दीलाई ध्यानमा राख्दै विभिन्न संघ–संस्था, प्रदेश समन्वय समिति, वैचारिक संगठन तथा जातीय संस्थाका तर्फबाट आमन्त्रित प्रतिनिधिहरूको संक्षिप्त शुभकामना मन्तव्यसमेत रहने जानकारी दिए।
कतारमा कार्यरत याक्थुङ/लिम्बु समुदायलाई जातीय, सामुदायिक तथा सामाजिक भावनामा एकताबद्ध बनाउने तथा आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई प्रवासमा रहँदा पनि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००२ मा “आनी याक्थुङ लाथिक पोखी (हामी याक्थुङ/लिम्बुहरू एकजुट रहौँ)” नामक संस्था स्थापना भएको थियो।
समयक्रमसँगै उक्त संस्था “किरात याक्थुङ चुम्लुङ” नामकरण भई किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय, नेपालबाट सम्बन्धन प्राप्त गरेपछि अझ व्यापक रूपमा विस्तार भएको हो। सन् २०२६ सम्म आइपुग्दा यो संस्था कतारमा कार्यरत याक्थुङ/लिम्बु समुदायको जातीय, सामुदायिक तथा भावनात्मक सामाजिक संवाहक संस्थाका रूपमा परिचित बनेको छ। साथै कतारस्थित विभिन्न संघ–संस्थासँग सक्रिय सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ।