तिलविक्रम थेवे, दोहा–कतार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास संगठन प्रवास नेपाली सम्पर्क विभाग कतार द्वारा पार्टीको चौथो वार्षिकोत्सव आइतबार, जुन २१, २०२६ (असार ७, २०८३) मा दोहास्थित गोरखाली रेस्टुरेन्ट, मुन्ताजामा भव्य रूपमा सम्पन्न गरिएको छ।
समारोहको अध्यक्षता विभागका कार्यवाहक सभापति नियम भुजेल ले गरेका थिए। उनले केक काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव पुरुषोत्तम रिजाल ले गरेका थिए भने प्रचार–प्रसार विभाग प्रमुख सञ्जीव कटुवाल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कोषाध्यक्ष सुजन ढकाल ले रास्वपाको उद्देश्य, नीति तथा भावी योजनाबारे प्रकाश पारेका थिए।
कार्यक्रममा आमन्त्रित अतिथिका रूपमा उपस्थित नेपाली महिला समाज कतार की पूर्व कार्यवाहक अध्यक्ष तथा वर्तमान संरक्षक आमिना खान ले देशभरका नेपाली जनताले भ्रष्टाचारमुक्त समाज, सुशासन, समृद्धि र विकासको आकांक्षासहित रास्वपालाई समर्थन गरेको बताइन्। कतारमा “मार्च आठ” का नामले परिचित खानले नयाँ पुस्तालाई समर्थन र सहयोग गर्नु अब रहर नभई कर्तव्य भएको उल्लेख गर्दै रास्वपाप्रति आफू पनि प्रभावित भएको धारणा व्यक्त गरिन्।
त्यसैगरी, महिला विभाग प्रमुख अम्बिका आचार्य ले देश, राजनीति, नेता र राजनीतिक दलहरूमा ‘फिटनेस’ अर्थात् तन्दुरुस्त सोच र व्यवहारको आवश्यकता रहेको बताउँदै त्यसकै परिणामस्वरूप रास्वपाको उदय भएको धारणा राखिन्। उनले देश सुशासनतर्फ उन्मुख हुँदै गएको र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अभियान सञ्चालन भइरहेको बताइन्।
कार्यक्रममा सल्लाहकारहरूको तर्फबाट युवराज लामिछाने,सबै शाखा समितिको तर्फबाट शंकर पौडेल, नेपाली फिटनेस टिम कतारका प्रतिनिधि सलिम खान, दोहा शाखा समितिका पूर्व सभापति गणेश थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले रास्वपाले जनमुखी काम, भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिलाई प्राथमिकतामा राखेकाले जनसमर्थन केन्द्रदेखि स्थानीय तहसम्म निरन्तर कायम रहने विश्वास व्यक्त गरे।
यसैबीच चितवनमा रास्वपाको ऐतिहासिक महाधिवेशन जारी रहेको सन्दर्भ उल्लेख गर्दै कार्यवाहक सभापति नियम भुजेल ले पार्टीले नयाँ उत्साह र नयाँ सोचका साथ देशलाई समृद्धितर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले रास्वपा देश र जनताको आशा र भरोसाको केन्द्र बनेको उल्लेख गर्दै पार्टी स्थापना भएको चार वर्षभित्रै प्राप्त जनसमर्थन पुराना राजनीतिक दल र नेताप्रतिको जनअसन्तुष्टिको परिणाम भएको बताए।
भुजेलले जनताले दिएको विश्वासलाई कायम राख्न पार्टीसँग आबद्ध सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरू संयमित, जिम्मेवार र देशको विकास तथा समृद्धिका लागि एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका बीच–बीचमा कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। साथै, संस्थाको विकास र गतिविधिमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो।