तिलविक्रम थेवे, दोहा (कतार)
किरात याक्थुङ चुम्लुङ कतारको १३औँ अधिवेशनबाट सागर तुम्बाहाम्फे लिम्बु पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार (२६ जुन २०२६) दोहास्थित वेलफेयर रेस्टुरेन्ट, प्लाजा मलमा सम्पन्न अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सोम माबोहाङ लिम्बु, प्रथम उपाध्यक्ष युवराज बेघा लिम्बु, द्वितीय उपाध्यक्ष राज आङ्ला लिम्बु, तृतीय उपाध्यक्ष गौतम आङ्देम्बे लिम्बु तथा महिला उपाध्यक्ष राधा तुम्बापो लिम्बु निर्वाचित भएका छन्।
त्यसैगरी महासचिवमा विरेन मादेन लिम्बु, उपमहासचिवमा चन्द्र पतङ्वा लिम्बु, सचिवहरूमा प्रकाश नेयोङ लिम्बु, निलासा केरुङ लिम्बु र छत्र कुरुम्बाङ लिम्बु, कोषाध्यक्षमा रबिन चेम्जोङ लिम्बु तथा सहकोषाध्यक्षमा जेम्स सेनेहाङ लिम्बु सर्वसम्मत चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा टिका मिभक लिम्बु, राम आङ्ला लिम्बु, जेलसिंह पतङ्वा लिम्बु, सुशिला बेघा लिम्बु, अस्मिता थेबे लिम्बु, सपना जबेगु लिम्बु, मनिष माङयुङ लिम्बु, सुशिल आङ्थुपो लिम्बु, एकराज लावती लिम्बु, असिम माबो लिम्बु, शिव थेगिम लिम्बु, आशा लक्सम्बा लिम्बु, एलिना खजुम लिम्बु र कल्पना लिबाङ लिम्बु सर्वसम्मत निर्वाचित भएका छन्।
यसअघि अध्यक्ष सागर तुम्बाहाम्फे लिम्बुको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ सहभागी थिए। उनले किरात याक्थुङ चुम्लुङ कतारले लामो समयदेखि प्रवासमा रहेका याक्थुङ समुदायलाई एकताबद्ध गर्दै उनीहरूको हक, हित, पहिचान, भाषा, संस्कार तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ कतारअन्तर्गतका मातृसंस्था, कतारस्थित विभिन्न सामाजिक संघसंस्था, वैचारिक संगठन तथा विशिष्ट व्यक्तित्वहरूले पनि शुभकामना मन्तव्य दिएका थिए।
महासचिव विरेन मादेन लिम्बुले सञ्चालन गरेको उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष रेखा मेन्याङबोले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ कतारका कलाकारहरूले याक्थुङ समुदायको मौलिक सांस्कृतिक नृत्य केलाङ प्रस्तुत गरेका थिए। साथै विभिन्न सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
उद्घाटन सत्रमा महासचिव विरेन मादेनले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रबिन चेम्जोङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस अवसरमा संस्थालाई विभिन्न समयमा आफ्नो क्षेत्रबाट योगदान पुर्याउने संघसंस्था तथा व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
सन् २००२ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ कतार, किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय नेपालबाट सम्बन्धन प्राप्त संस्था हो। कतारमा रहेका याक्थुङ लिम्बु समुदायलाई जातीय, सामाजिक तथा सांस्कृतिक रूपमा एकताबद्ध गर्दै भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले कतारस्थित विभिन्न संघसंस्थासँग सक्रिय सहकार्य तथा समन्वय गर्दै आइरहेको छ।
संस्थाको मूल नारा "लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता" रहेको छ।