दोहा, कतार ।
वैदेशिक रोजगारी र सामाजिक सेवाको सिलसिलामा कतारमा रहेका बाँकेवासीहरूको साझा संस्था ‘बाँके सेवा समाज दोहा कतार’ ले एक भव्य समारोहका बीच संस्थाकी संस्थापक सदस्य एवं कलाकार बिर्मा खत्रीलाई बिदाइ तथा कार्यक्रम सदस्य रितुकाली थापालाई सम्मान गरेको छ।
संस्थाका प्रथम उपाध्यक्ष हेमराज रिजालको अध्यक्षतामा सम्पन्न उक्त विशेष सम्मान तथा बिदाइ कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार नवराज शाही प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाका सल्लाहकार तिलक सिंह ठकुरी, संस्थापक सदस्य अजय विश्वकर्मा, तथा पाहुनाद्वय छबिलाल बुढा र टन्क विश्वकर्मा विशिष्ट अतिथिको रूपमा मञ्चमा आसिन हुनुहुन्थ्यो। संस्थाका महासचिव गुमान सिंह खत्रीले कुशल रूपमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्य तथा कतारमा रहेका बाँकेवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
मायाको चिनो र दोसल्ला ओढाएर बिदाइ
लामो समयदेखि कतारलाई कर्मथलो बनाएर संस्थाको स्थापनाकालदेखि नै महत्तवपूर्ण योगदान पुर्याउँदै आउनुभएकी संस्थापक सदस्य एवं कलाकार बिर्मा खत्री कर्मभूमि कतारको बसाइँलाई टुङ्ग्याएर स्वदेश फर्किन लाग्नुभएको अवसरमा संस्थाले उहाँलाई सम्मानसहित बिदाइ गरेको हो। कार्यक्रमका अध्यक्ष रिजाल र प्रमुख अतिथि शाहीले संयुक्त रूपमा खत्रीलाई दोसल्ला ओढाएर, सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै भावपूर्ण बिदाइ गर्नुभएको थियो। उहाँले संस्था र कला क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै आगामी सुखद भविष्यको कामना गरिएको थियो।
रितुकाली थापालाई ‘कलाकार सम्मान’
सोही अवसरमा संस्थाकी कार्यक्रम सदस्य रितुकाली थापालाई संस्था र समाजका सांस्कृतिक गतिविधिहरूमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै ‘कलाकार सम्मान’ स्वरूप विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवराज शाहीले प्रवासमा रहेर पनि आफ्नो जिल्ला र कला-संस्कृतिको जगेर्ना गर्न बाँके सेवा समाजले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। त्यस्तै, कार्यक्रमका अध्यक्ष हेमराज रिजालले बिदाइ भएर जान लाग्नुभएकी खत्रीलाई धन्यवाद दिँदै संस्थाले उहाँको योगदानलाई सधैं स्मरण गरिरहने बताउनुभयो। कार्यक्रमको समापन गर्दै उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।