काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यक रहेको बताएका छन् । धेरै कार्यक्रममा पोखरेलले नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताको पहिचान बनाएका पोखरेल आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन् ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन, अब वैचारिक पुनर्गठनको आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन,’ उनले भने, ‘काम नगरेर पार्टीलाई सुधार गर्न सकिन्न । पार्टी जीवनमा सबैभन्दा ठुलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा पनि छ ।’
उनले पार्टी शुद्धि करणसहितको रूपान्तरण तयार रहेको बताए । ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौ उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेश गएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गरे,’ उनले भने, ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँ गाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्यो ।’
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपले निर्णय गर्न तयार रहेको बताए । उनले समाजमा सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरूले गरेका राम्रा कामहरू नकारात्मक मात्रै अघि बढाइएको बताए ।
‘एउटा समय आयो कि हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था आयो । सहरिया, नवयुवा, विदेश बसेका र सुकुम्वासीहरू हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिशन ग्रासरूट चलायौँ र सफल भयो । तर युवालाई जे गर्ने भनेका थियौ, त्यो भएन । हामी असफल भयौँ,’ उनले भने, ‘अरू पनि युवा केन्द्रित कार्यक्रम भए तर प्रभावकारी भएन । समस्या पहिचान पनि भएको हो । समग्रतामा हामीले समीक्षा नगरी भएन भन्ने हो ।’
उनले समस्या के हो ? जनताको मनोभावना किन बुझिएन ? र प्रतिस्पर्धा को सँग कसरी गर्ने भन्ने विषयमा कमजोरी भएको बताए ।
‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौँ तर वर्ग सङ्घर्षलाई हामीले बुझ्न सकेनौँ, सिडिओ र राम्रो हाकिम खोज्दै हिँड्यौ । यसरी हामी जनताबिच जाने हैन, जनता हामीकहाँ आउने बनायौ । यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौ, जनतामुखी भयौँ,’ उनले भने ।
प्रदेश सरकारमा नयाँ गठबन्धनबारे कांग्रेस नै नचाहेर भएको बताए । ‘हामी काङ्ग्रेससँग मिल्ने पक्षमा नै थियौ, उनीहरूबिच सहमति हुन सकेन । नेतृत्व हेरफेर नगर्ने भनेको उनैले हो । तथापि बजेट पूर्व हेरफेर गर्न तयार भएन,’ उनले भने, ‘हाम्रै प्रदेश नेतृत्वले पनि समस्या आयो । यसो भयपछि सबै मिलौँ भनियो तर कांग्रेस तयार भएन । यस अर्थमा यो बाध्यताको परिणाम हो ।’
महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुराउनुपर्ने बताए ।