दोहा, कतार।
कास्की आदर्श समाज, कतारको २४औँ स्थापना दिवस दोहाको सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व तथा संरक्षक संयोजक विमल सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संरक्षकहरू, संस्थापकहरू, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, गण्डकी प्रदेश समन्वय परिषद्का कार्यवाहक अध्यक्ष, गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, नेपालबाट सहभागी WE पोखराका उपाध्यक्ष, संस्थाका पूर्व पदाधिकारी, आजीवन, मानार्थ तथा साधारण सदस्यहरू, कलाकार, खेलाडी, स्वयंसेवक तथा कस्केली एवं गैर–कस्केली दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको २४औँ वार्षिकोत्सवको केक काटेर खुसीयाली साटासाट गरिएको थियो। स्थापना दिवसको केक संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक आशबहादुर गुरुङले प्रायोजन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि विमल सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरूबीच एकता, आपसी सद्भाव, सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमार्फत पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। नेपालमा आइपर्ने विभिन्न विपद् तथा आकस्मिक परिस्थितिमा राहत स्वरूप संस्थाले निरन्तर मलमपट्टीको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले कास्कीको सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप र आपसी भाइचारा जोगाइराख्न सम्पूर्ण कास्कीवासी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि, इकाइका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका प्रमुख सल्लाहकार, सल्लाहकार, संरक्षक, पूर्व अध्यक्षहरू राम प्रसाद गौतम, आसबहादुर गुरुङ, मन प्रसाद रानामगर, गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष तथा नेपालबाट आउनुभएका WE पोखराका उपाध्यक्षलगायतले संस्थाको सामाजिक, सांस्कृतिक तथा सेवामूलक योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन कलाकारहरू नयन शर्मा, महेश तामाङ र रेजिना तामाङलगायतले सांगीतिक प्रस्तुतिहरू दिएका थिए।
यसै अवसरमा सन्तोष भुजेल, नारायण आचार्य, सुवास रसाइली, गोविन्दबहादुर केसी तथा सुरज सुनारले संस्थाको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ। उहाँहरूलाई संस्थाले हार्दिक स्वागत गर्दै आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेको थियो।
कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थाका अध्यक्ष अग्निधर देवकोटाले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, संघ–संस्थाका प्रतिनिधि, कलाकार, स्वयंसेवक, कार्यसमिति, सदस्य तथा उपस्थित महानुभावहरूप्रति आभार व्यक्त गर्नुभयो। सबैको निरन्तर साथ र विश्वास नै संस्थाको प्रमुख शक्ति रहेको बताउँदै उहाँले आगामी दिनमा पनि यस्तै सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव केदार भण्डारीले गर्नुभएको थियो।