दोहा, कतार।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा उदीयमान युवा नेता सुहाङ नेम्वाङ कतार आइपुगेका छन्। प्रवासी नेपाली मञ्च (ONF) कतारको आगामी आठौँ राष्ट्रिय अधिवेशन तथा समुद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन दोहा ओर्लिएका नेम्वाङलाई कतारमा बसोबास गर्ने नेपाली समुदाय तथा मञ्च निकट आस्थावान हरुले विमानस्थलमै भव्य स्वागत गरेका छन्।
नेम्वाङको स्वागतका लागि कतारस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो सङ्ख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो। विमानस्थलमा मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव चानक पोख्रेल, मञ्च कतारका अध्यक्ष चुडामणि कार्की,निवर्तमान अध्यक्ष प्रभात त्रिपाठी, मंचका पदाधिकारीहरु मध्यपूर्व कमिटीका पदाधिकारीहरू लगायत कतारमा क्रियाशील विभिन्न वैचारिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
अधिवेशनको तयारी पूरा
मञ्चको आठौँ राष्ट्रिय अधिवेशन यही अगस्ट ७, २०२६ (शुक्रबार) का दिन दोहाको पर्यटकीय तथा व्यापारिक केन्द्र अल दफ्नास्थित 'Centra West Bay Hotel & Suites' मा आयोजना हुँदैछ। प्रमुख अतिथि नेम्वाङ कतार अवतरण भएसँगै कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रवासी नेपाली मञ्च कतारका सचिव शेषराज तिमिल्सिनाले जानकारी दिएका छन्।
अधिवेशनमा कतारमा रहेका नेपाली श्रमिक तथा पेसागत समुदायका मुद्दा, मञ्चको आगामी नयाँ नेतृत्व चयन हुने सम्भावना रहेको छ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र युवा नेतृत्वको भूमिकालाई लिएर कतारमा रहेका प्रवासी नेपालीहरूमाझ सुहाङ नेम्वाङको आगमनले नयाँ उत्साह थपेको छ। एमालेका दिवङ्गत वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र समेत रहेका सुहाङले कतारमा रहेका प्रवासी नेपालीहरूको सुख-दुःख र समस्यालाई नजिकबाट बुझ्ने अपेक्षा गरिएको छ।
आयोजक प्रवासी नेपाली मञ्च कतारले दोहा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, बुद्धिजीवी, व्यवसायी, पत्रकार एवं सामाजिक अभियन्ताहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाइदिन सादर अनुरोध गरेको छ।