दोहा, कतार
विदेशमा रहेर पनि आफ्नो जन्मथलोप्रतिको दायित्वलाई उच्च प्राथमिकता दिँदै आएको संखुवासभा समाज कतारले पुनः एकपटक मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। समाजले क्यान्सर रोगबाट पीडित संखुवासभा Chainpur नगरपालिका–१० निवासी सुर्य अधिकारीको उपचारका लागि संकलन गरेको आर्थिक सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई भरतपुर क्यान्सर अस्पतालमा उपचाररत अधिकारीको सहयोगार्थ समाजले आफ्ना सदस्य तथा शुभेच्छुकहरूबाट राहत रकम संकलन गरेको थियो। संकलित कतारी रियाल १,३९६ (नेपाली रुपैयाँ ५४,०४३.१९) वडा कार्यालयको समन्वयमा पीडित सुर्य अधिकारीकी श्रीमती दीपा लिङ्थेप अधिकारीलाई विधिवत रूपमा बुझाइएको छ।
रकम हस्तान्तरणपछि चैनपुर नगरपालिका वडा नं. १० कार्यालयले साउन २१ गते एक आधिकारिक पत्र जारी गर्दै संस्थालाई औपचारिक रूपमा धन्यवाद ज्ञापन गरेको छ। वडा अध्यक्ष धन बहादुर तामाङ र रकम बुझ्ने पक्षको हस्ताक्षर तथा औंठाछापसहितको भरपाई तयार गरी रकम हस्तान्तरण प्रमाणित गरिएको छ।
वडा कार्यालयद्वारा जारी धन्यवाद पत्रमा प्रवासमा रहेर पनि आफ्नो गाउँ-ठाउँका नागरिकको दुःखमा मलम लगाउने संखुवासभा समाज कतारको भावना प्रशंसनीय रहेको उल्लेख छ। साथै, आगामी दिनहरूमा पनि यस्तै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना निरन्तर कायम रहने विश्वास व्यक्त गरिएको छ।
संखुवासभा समाज कतारले विगतदेखि नै प्राकृतिक विपद्, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएको छ। प्रवासमा रहेका संखुवासभालीहरूलाई एउटै मञ्चमा आबद्ध गराएर जन्मभूमिको सेवामा समर्पित रहँदै आएको यस संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।