दोहा (कतार), साउन २३
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले चुनावी राजनीतिमा मत घट्दैमा वामपन्थी विचार र सिद्धान्त समाप्त नहुने बताएका छन्। समाजमा विद्यमान असमानता, शोषण र सामाजिक न्यायको आवश्यकता रहुञ्जेल कम्युनिस्ट विचार सधैँ सान्दर्भिक रहने उनको भनाइ छ।
प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार दोहाको वेस्ट बेस्थित सेन्ट्रा हलमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै युवा नेता नेम्वाङले विचार जीवन्त रहे पनि दलहरूले जनभावनाअनुसार काम गर्दै आफ्ना कमी-कमजोरीको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।
आत्मसमीक्षा र नैतिक राजनीतिमा जोड
सम्बोधनका क्रममा सांसद नेम्वाङले आत्मसमीक्षा र आत्मालोचना गर्दा नेतृत्वको उचाइ घट्ने नभई जनविश्वास अझ प्रगाढ हुने उल्लेख गरे। लोकतन्त्रमा फरक विचारको सम्मान हुनुपर्ने र व्यक्तिपूजाको संस्कृति अन्त्य हुनुपर्ने बताउँदै उनले असहमतिलाई व्यक्तिगत वैमनस्यका रूपमा लिन नहुने धारणा राखे।
विशेष गरी ३५ वर्षमुनिका युवाहरूमा राजनीतिक दलहरूप्रति विश्वास घट्दै गएको प्रसङ्ग उठाउँदै उनले भने, "नयाँ पुस्ताले भाषण र आश्वासनभन्दा परिणाम, नैतिकता र व्यवहारलाई मूल्याङ्कन गर्छन्। त्यसैले नेतृत्वले कामबाटै युवाको विश्वास जित्नुपर्छ।" उनले युवाको ऊर्जा र अग्रज पुस्ताको अनुभवको सहकार्यबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुने स्पष्ट पारे।
कानुन छ, कार्यान्वयन फितलो
नेपालमा अधिकांश क्षेत्रमा कानुन, नीति तथा संस्थागत संरचना बने पनि कार्यान्वयन पक्ष कमजोर हुँदा नागरिकले अपेक्षित सेवा–सुविधा पाउन नसकेको उनले स्वीकार गरे। कृषि, श्रम, वैदेशिक रोजगार, हुन्डी तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि कानुनी व्यवस्था भए पनि फितलो कार्यान्वयनका कारण उही समस्या दोहोरिइरहेको उनको भनाइ थियो।
कतारमा कार्यरत नेपालीहरूले भोगेका मोबाइल, सुन, भन्सार तथा व्यावहारिक कठिनाइप्रति ध्यान आकृष्ट भएको जनाउँदै उनले अवैध कारोबार रोक्ने नाममा सोझा र इमानदार नागरिकले सास्ती पाउन नहुने बताए। कानुनी व्यवस्थालाई व्यावहारिक र समयानुकूल बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रवासीका माग र अधिवेशन
कार्यक्रमका अन्य वक्ताहरूले कतारसहित खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराए। खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने विभेदपूर्ण व्यवहार, अध्यागमन प्रक्रियाको झन्झट र विदेशबाट फर्कँदा व्यक्तिगत प्रयोगका लागि दुईवटा मोबाइल (आईफोन) समेत ल्याउन नपाउने अव्यावहारिक नियम तत्काल हटाउन उनीहरूले माग गरे।
मञ्चका अध्यक्ष चुनामणि कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कतारस्थित नेपाली सामाजिक सङ्घ-संस्थाका प्रतिनिधि, प्रवासी समुदायका अगुवा तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रथम उपाध्यक्ष अफसर अलीले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सचिव शेषराज तिमिल्सिनाले गरेका थिए। समारोहमा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।