दोहा, कतार — "पहिचान र समानताको प्रतिबद्धता" भन्ने मूल नाराका साथ सन् २०१० मा स्थापित सुनुवार सेवा समाज शाखा कतारको सातौँ सम्मेलन ७ अगस्ट २०२६ का दिन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
संस्थाका कार्यवाहक अध्यक्ष कमल विक्रम सुनुवारको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनको खुल्ला सत्रमा नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी एनआरएनए एनसीसी कतारका प्रवक्ता दिनेश कटवाल लगायतका व्याक्तित्वहरु विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ कतारका प्रमुख सल्लाहकार, सल्लाहकारहरू, महासङ्घमा आवद्ध विभिन्न मातृ संस्थाहरू, प्रादेशिक संस्था, नेपाली महिला समाज, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका प्रतिनिधिहरूका साथै विभिन्न जिल्ला समाजका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्थाका महासचिव गङ्गाबहादुर सुनुवारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सचिव सूर्य सुनुवारले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। खुल्ला सत्रको औपचारिक कार्यक्रम पश्चात् बिनिता सुनुवारको स्वागत नृत्यका साथै सरला तामाङ, गौतम लिम्बू, मनिष लिम्बू, नेहा सुनार, नैना सुनार, सपना मगर, सोनिशा तामाङ, सीमा मगर र वमिन खालिङ राईलगायतका कलाकारहरूले बेजोड साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासको कठिन परिस्थितिमा पनि सुनुवार सेवा समाजले आफ्नो भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचान जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, "कतार जस्तो श्रमगन्तव्य मुलुकमा रहेर पनि सम्पूर्ण आदिवासी जनजातिहरू एकताबद्ध भई पहिचान र समानताको अधिकारका लागि क्रियाशील हुनु गौरवको विषय हो। आगामी दिनमा पनि मातृ संस्थाहरूबीचको भाइचारा र सहकार्य थप मजबुत हुनेछ भन्ने विश्वास लिएको छु।"
त्यसैगरी, कार्यक्रमका सभापति एवं कार्यवाहक अध्यक्ष कमल विक्रम सुनुवारले आफ्नो अध्यक्षीय मन्तव्य प्रस्तुत गर्दै सम्मेलनको खुल्ला सत्र समापन गर्नुभएको थियो। उहाँले संस्थाको स्थापनाकालदेखि हालसम्म सहयोग पुर्याउने सम्पूर्ण सल्लाहकार, कार्यसमिति, मातृ संस्था तथा सहयोगीदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, "हाम्रो मुख्य ध्येय नै सुनुवार समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्नु हो। सबैको साथ र सहयोगले नै हामी यहाँसम्म आइपुगेका छौँ। आगामी नयाँ नेतृत्वले संस्थालाई अझ उचाइमा पुर्याउनेछ भन्ने पूर्ण विश्वासका साथ खुल्ला सत्र समाप्तिको घोषणा गर्दछु।"
नयाँ कार्यसमिति चयन:
खुल्ला सत्रको समापन पश्चात् आयोजित बन्द सत्रले सन् २०२६–२०२९ कार्यकालका लागि गङ्गाबहादुर सुनुवारको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमिति विवरण:
- अध्यक्ष: गङ्गाबहादुर सुनुवार
- वरिष्ठ उपाध्यक्ष: कमल विक्रम सुनुवार
- प्रथम उपाध्यक्ष: सोनी कुमारी सुनुवार
- द्वितीय उपाध्यक्ष: दीपा सुनुवार
- महासचिव: बिनिता सुनुवार
- सह-कोषाध्यक्ष: बुदन सुनुवार
- सदस्यहरू: तोरण सुनुवार, सूर्य सुनुवार, मिसन सुनुवार