तिलविक्रम थेवे, दोहा–कतार ।
०८ अगस्ट २०२६, शनिबार — इलाम सेवा समाज कतार र किरात याक्थुङ चुम्लुङ कतार (कियाचु) ले इलाम क्षेत्र नं. २ का सांसद सुहाङ नेम्बाङलाई संयुक्त भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेका छन्।
प्रवासी नेपाली मञ्चको आठौँ अधिवेशनलाई सम्बोधन गर्न कतार आएका सांसद नेम्बाङको सम्मानमा नज्मास्थित गोरखा रेष्टुरेन्टको हलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा इलाम सेवा समाज कतारका अध्यक्ष खडक वनेम फागोले सांसद नेम्बाङलाई दोसल्ला ओढाई ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए। त्यस्तै, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष सागर तुम्बाहाम्फेले दोसल्ला तथा ताम्रपत्र प्रदान गरी सम्मान गरेका थिए।
सो अवसरमा इलाम जिल्लाको विकासका लागि पूर्वाधार, यातायात, कृषि, पर्यटन, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा विशेष ध्यान दिन आग्रह गर्दै सांसद नेम्बाङलाई अनुरोधपत्रसमेत हस्तान्तरण गरिएको थियो।
अनुरोधपत्र बुझ्दै सांसद नेम्बाङले यातायात तथा पुल–पुलेसा विकास र समृद्धिका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै इलामको विकासका लागि यी विषयलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता इलाम सेवा समाज कतारका अध्यक्ष खडक वनेम फागोले गरेका थिए भने सहअध्यक्षता किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष सागर तुम्बाहाम्फेले गरेका थिए। कार्यक्रममा अध्यक्ष तुम्बाहाम्फेले स्वागत मन्तव्य राख्दै संस्थाका गतिविधि तथा उद्देश्यबारे संक्षिप्त जानकारी गराएका थिए।
त्यसैगरी, कियाचुका विशेष सल्लाहकारद्वय डम्बर लिवाङ र डम्बर खजुमले संस्थाको तर्फबाट मन्तव्य राखेका थिए। इलाम सेवा समाज कतारका संरक्षक धनबहादुर विक (रोशन) र अन्तर्राष्ट्रिय संयोजक तिलविक्रम थेवेले पनि संस्थागत गतिविधि तथा उद्देश्यबारे जानकारी दिँदै मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङ कतारका महासचिव विरेन मादेनले गरेका थिए भने इलाम सेवा समाज कतारका उपमहासचिव मनकुमार योङहाङ लिम्बूले कार्यक्रम सहजीकरणमा सहयोग गरेका थिए।
कार्यक्रमको समापन गर्दै इलाम सेवा समाज कतारका अध्यक्ष खडक वनेम फागोले आफ्नो निर्वाचन क्षेत्रका सांसद कतार आएका अवसरमा भेटघाट तथा सम्मान गर्न पाउनु सुखद संयोग भएको बताए। उनले कार्यक्रम आयोजना गर्न सहजीकरण तथा सहयोग गर्ने प्रवासी नेपाली मञ्चका साथीहरूप्रति समेत धन्यवाद व्यक्त गरे।