दोहा, कतार
श्रमिक सहयोग तथा बिमा कोष कतारको आयोजनामा सञ्चालित सामुदायिक स्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नेपाली महिला टोली आगामी शुक्रबार ट्युनिसियासँग सेमिफाइनलमा आमनेसामने हुने भएको छ।
गत शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा नेपालले फिलिपिन्स ‘सी’ टोलीलाई २५–४ र २५–१४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। यसअघि पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले ट्युनिसिया, कतार फाउन्डेसन र फिलिपिन्स ‘सी’लाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
नेपाल र ट्युनिसियाबिचको सेमिफाइनल भिडन्त आगामी शुक्रबार बिहान ९ बजे अल-सादस्थित अलि बिन हमाद अल-अतिया एरिना (इनडोर हल) मा हुनेछ। लगातार तीन खेल जितेर उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोलीको नेतृत्व कप्तान कोसेली मगरले सम्हालेकी छन्।
प्रतियोगिताको सेमिफाइनल खेललाई लक्षित गर्दै नेपाली महिला टोली आजैदेखि मुख्य प्रशिक्षक सागर विकको प्रशिक्षणमा जुटेको छ।
ट्युनिसियाविरुद्धको महत्त्वपूर्ण सेमिफाइनल भिडन्त नजिकिँदै गर्दा टोलीले आफ्नो तयारीलाई थप व्यवस्थित र आक्रामक बनाएको हो। प्रशिक्षक सागर विकको रेखदेखमा खेलाडीहरूले आजदेखि विशेष रणनीति, प्राविधिक पक्षमा केन्द्रित भएर अभ्यास सुरु गरेका छन्।
यसैबिच, गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारका खेल संयोजक राजन चापागाईँले नेपाली टोलीको मनोबल बढाउन र राष्ट्रको गौरव उच्च राख्न कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मैदानमै उपस्थित भई टोलीलाई हौसला र समर्थन प्रदान गर्न हार्दिक अनुरोध गरेका छन्।
प्रतियोगितालाई भव्य र व्यवस्थित गराउन गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारका युवा संयोजक तथा स्वयंसेवक संयोजक केशु मल्ल ठकुरी नेतृत्वको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र मल्लसहितको स्वयंसेवक टोलीले खेलाडीहरूको सहजीकरण तथा दर्शक व्यवस्थापनमा निरन्तर खटिएर ठुलो सहयोग र प्राविधिक सपोर्ट पुर्याउँदै आएको खेलकुद संयोजक चापागाईंले जानकारी गराए ।
आयोजकका अनुसार सेमिफाइनल खेल सकिएलगत्तै सोही दिन प्रतियोगिताको फाइनल खेल पनि सञ्चालन गरिनेछ।