दोहा, कतार।
गण्डकी प्रदेश समन्वय परिषद, कतारको आयोजनामा विशेष पत्रकार सम्मेलन (Press Meet) भव्यताका साथ सम्पन्न भएको छ। कतारमा क्रियाशील सञ्चारकर्मी, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालीहरूको महान पर्व शुभ दीपावली (तिहार), नेपाल संवत् ११४५ तथा छठ पर्व २०८१ को पावन अवसरमा नेपालको चर्चित "लेकाली ब्यान्ड" को विशेष सांगीतिक प्रस्तुतिसहित बृहत् शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम ६ नोभेम्बर २०२६ शुक्रबार आयोजना गर्न लागिएको हो।
गण्डकी प्रदेश समन्वय परिषद, कतारको "श्रमिक कल्याणकारी कोष" स्थापनार्थ यो कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। कतारमा कार्यरत नेपाली श्रमिकहरूमा पर्न सक्ने आकस्मिक विपद्, स्वास्थ्य समस्या तथा अन्य मानवीय सहायताका लागि कोषले महत्वपूर्ण भूमिका खेल्ने उद्देश्य राखिएको छ। कार्यक्रमको लागि प्रवेश शुल्क प्रतिव्यक्ति ३० कतारी रियाल (QAR 30) निर्धारण गरिएको छ।
परिषदका उपाध्यक्ष कल्याण थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य प्रायोजक "भिक्टोरिया गोल्ड" का सञ्चालकले प्रवासमा रहेका नेपाली समुदायको हितका लागि हातेमालो गर्न पाउँदा र खुल्ला दिलले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
नेपालबाट आउने मुख्य फेभरेट ब्यान्ड 'लेकाली' का साथमा कतारमा रहेका स्थानीय प्रतिभाशाली कलाकारहरूद्वारा विभिन्न मौलिक लोक संस्कार, संस्कृति तथा परम्परा झल्किने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू समेत रहने आयोजकले जनाएको छ। यसले नेपाली कला र सांस्कृतिक विविधतालाई प्रवासमा प्रवर्द्धन गर्न थप मद्दत पुर्याउने विश्वास लिइएको छ।
नेपाली लोक संगीत र सुगम संगीतको इतिहासमा 'लेकाली' (लेकाली परिवार/ब्यान्ड) को योगदान अतुलनीय छ। २०२४ सालतिर स्थापना भएको यो सांगीतिक समूहले नेपाली मौलिक लोक धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै थुप्रै कालजयी गीतहरू प्रस्तुत गरेको छ।
बनमा कस्तुरी ,दुइदिने जिन्दगी यो,कान्छी तिम्रो,यो मुटुमा, लेकाली हामी, लगायतका लेकाली समूहका चर्चित तथा प्रसिद्ध प्रस्तुतिहरू रहेका छ्न ।
कार्यक्रममा उपस्थित पत्रकार तथा सञ्चारकर्मीहरूले कार्यक्रमको पूर्वतयारी, सुरक्षा व्यवस्था, टिकट व्यवस्थापन तथा श्रमिक कल्याणकारी कोष सञ्चालनको कार्यविधि र पारदर्शिताबारे चासो राख्दै विभिन्न महत्त्वपूर्ण प्रश्नहरू सोधेका थिए।
पत्रकार सम्मेलनका क्रममा उठेका सञ्चारकर्मीहरूका ती जिज्ञासा र प्रश्नहरू स्पष्ट पार्दै गण्डकी प्रदेश समन्वय परिषद, कतारका अध्यक्ष कार्यक्रमका सभापति नन्दलाल बिक "अजय" ले यो कार्यक्रमलाई कुनै एउटा संस्थाको मात्र नभई कतारमा रहेका समग्र नेपाली समुदायको साझा कार्यक्रमका रूपमा अघि बढाइएको बताउनुभयो। अध्यक्ष बिकका अनुसार गण्डकी प्रदेशको आफ्नै भेषभूषा, कला र सांस्कृतिक पहिचानका साथै अन्य प्रदेशका मौलिक संस्कृतिलाई समेत समेटेर आपसी एकता र सद्भाव प्रस्तुत गरिनेछ।
साथै, सांगीतिक कार्यक्रमबाट करिब ५० हजारदेखि ६० हजार कतारी रियालसम्म रकम संकलन हुने प्रारम्भिक अनुमान गरिएको र कार्यक्रम सकिएपछि आम्दानी-खर्चको स्पष्ट तथा पारदर्शी हिसाब सार्वजनिक गरिने प्रतिबद्धता अध्यक्ष बिकले व्यक्त गर्नुभयो।
आयोजक पक्षले कार्यक्रम सफल बनाउन कतारमा क्रियाशील सम्पूर्ण व्यवसायी, सामाजिक संस्था, सञ्चारकर्मी तथा कतारवासी नेपाली समुदायमा उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।
कार्यक्रमको आय-व्यय प्रस्तुत गर्दै आर्थिक संयोजक अर्जुन संग्रौलाले कार्यक्रम सम्पन्न गर्न अनुमानित ४५ हजार कतारी रियल खर्च लाग्ने जानकारी गराउनुभयो। सो खर्च व्यवस्थापनका लागि टिकट बिक्री, विभिन्न sponsor (प्रायोजक) तथा शुभेच्छुकहरूबाट गरी कुल ६० हजार कतारी रियल सङ्कलन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
नेपालकै पुरानो इतिहास बोकेको र एक प्रमुख तथा चर्चित लेकाली ब्यान्ड भएकाले पनि यस पटकको कार्यक्रममा दर्शको बाक्लो उपस्थिति रहने आयोजकले आशा राखेको छ। कार्यक्रमको सहजीकरण परिषद कतारका महासचिव मन प्रसाद रानामगरको रहेको थियो ।