दोहा, कतार ।
नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज कतारले आफ्नो 'आन्तरिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम २०८३' भव्यताका साथ सम्पन्न गरेको छ । कतारको सनैयास्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा कतारमा कार्यरत नेपाली समुदायका विभिन्न जात जाति तह र तप्काका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक सत्रमा म्हेन्दोमाया समाज कतारका अध्यक्ष गुर्व लामा तामाङको अध्यक्षता, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवाष तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, लामागुरु डवाङ सोइपा लामा,लगायत विशिष्ट अतिथिहरूको आथित्यता रहेको थियो ।
आसनग्रहण गर्ने अतिथिहरूमा कतारमा क्रियाशील अन्य जातीय संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, र समाजका सल्लाहकारहरू, जिल्ला संघ संस्थाका प्रतिनिधि रहेका थिए । आसनग्रहण गरेका अतिथिहरूलाई खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुबास तामाङले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्नाका लागि म्हेन्दोमाया समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
म्हेन्दोमाया समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति गुर्व लामा तामाङले कतारमा रहेका तामाङ र समग्र नेपाली समुदायबीच एकता, सद्भाव र आपसी सहयोगको भावना अभिवृद्धि गर्न यस कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम सफल पार्ने सम्पुर्णमा धन्यवाद प्रकट गरे ।
सांस्कृतिक सत्रमा कलाकारहरूले म्हेन्दोमाया शैलीका गीत एवं नृत्यहरू प्रस्तुत गरेका थिए, जसले हलमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
नेपालको त्रिशुली खोला वारि–पारि, गणेश हिमाल र ल्हप्सङकर्पो क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया, माने दोरा, साइकोले, स्याब्रु लगायतका मौलिक कला, संस्कार र संस्कृतिको प्रवासको भूमिबाट पनि प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा आयोजक संस्थालाई विभिन्न संघ संस्थाका व्याक्तित्वले धन्यवाद सहित शुभकामना प्रकट गरे ।
म्हेन्दोमाया समाज कतार स्थापना गर्नुको उदेश्य,संस्थाको गतिविधि बारेमा विशेष सल्लाहकार श्री पाखृन तामाङले जानकारी गराए ।कार्यक्रमको सहजीकरण सचिव चित्र लामाले जानकारी गराए ।