दोहा, कतार — नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ पाल्पाली सेवा समाज दोहा-कतारले कतारमै पहिलोपटक 'रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम-२०२६' आयोजना गर्ने भएको छ।
आगामी २८ अगस्ट २०२६, शुक्रबारका दिन प्लाजा मलस्थित मिस्क्याफे रेस्टुरेन्टमा दिउँसो १२:३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा परम्परागत रोपाइँ जात्रा, तीज विशेष सांस्कृतिक प्रस्तुति, नेपाली लाखे नाच तथा नेपाली मौलिक खानाका परिकारहरु समावेश गरिने बताइएको छ।
विदेशको व्यस्त जीवनशैलीका बाबजुद आफ्ना चाडपर्व र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न यो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष बिकाश गैरे (बिक्की) ले जानकारी दिनुभयो।
सन् २००७ मा स्थापित पाल्पाली सेवा समाजले “पाल्पाली सेवा समाज दोहा–कतारको प्रतिबद्धता, निःस्वार्थ समाजसेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ सामाजिक तथा सांस्कृतिक गतिविधिहरू गर्दै आएको छ। कार्यक्रम संयोजक धना कुमारी श्रेष्ठका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
समाजका महासचिव हिरालाल बस्यालले कतारमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था तथा दाजुभाइ-दिदीबहिनीहरूलाई निमन्त्रणा पत्र पठाइसकिएको र पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधिकारिक निमन्त्रणा मानी उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ