काठमाडौं । भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ७८८ जनाको मृत्यु भइसकेको छ ।
मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था युनिसेफका अनुसार बाढी प्रभावित क्षेत्रमा बालबालिकाले छोटो समयमै आफ्नै आँखा अगाडि घर, परिवार, विद्यालय र समुदाय बगाएको देखेका छन् । यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ ।
नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले रसुवा र धादिङका बालबालिकाले आफ्नो जीवन नै बगिरहेको देख्नुपरेको बताइन् । उनका अनुसार धेरै बालबालिकाले आफन्त र प्रियजन गुमाएका छन् भने घर, कक्षाकोठा तथा स्वास्थ्य संस्थासमेत क्षतिग्रस्त भएका छन् ।
‘मृत्युको संख्या अझै बढ्दै जाँदा हामीलाई थाहा छ कि यो त्रासदी अझै समाप्त भएको छैन,’ उनले भनिन्, ‘बाढीबाट बचेका बालबालिकाले अब रोग, कुपोषण, हिंसा र शोषणको बढ्दो जोखिमको सामना गरिरहेका छन् ।’
अचानक आएको बाढीले कतिपय बस्ती पूर्णरूपमा बगाएको छ भने कतिपय क्षेत्रसँगको सम्पर्क नै विच्छेद भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली तथा दूरसञ्चार संरचनामा ठूलो क्षति पुगेका कारण प्रभावित क्षेत्रमा राहत तथा जीवनरक्षक सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ ।
बाढीबाट कम्तीमा चार स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य संस्थामा पुगेको क्षतिका कारण बालबालिका र परिवारले उपचार आवश्यक परेको समयमा स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन् । दूषित पानी र सरसफाइको अभावका कारण बाढीपछि बालबालिकामा विभिन्न रोगको जोखिमसमेत बढेको छ ।
तत्काल र लचिलो आर्थिक स्रोत उपलब्ध हुन नसके बालबालिका तथा महिलालाई स्वास्थ्य, पोषण, सुरक्षित पानी, शिक्षा, बाल संरक्षण र सामाजिक सुरक्षाका सेवा उपलब्ध गराउने क्षमता सीमित हुने युनिसेफले चेतावनी दिएको छ ।
बाढीपछि उद्धार र राहतसँगै अब बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा र मानसिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।
भौतिक संरचना पुनर्निर्माणसँगै बाढीले बालबालिकाको जीवनमा पारेको दीर्घकालीन असर सम्बोधन गर्न नसके विपद्को प्रभाव उनीहरूको भविष्यसम्म फैलिन सक्ने जोखिम छ ।