काठमाडौं । मनास्लु वर्ल्ड कलेज, चुच्चेपाटीले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक तथा व्यावसायिक सीप प्रदान गर्दै आवश्यक परे आर्थिक रूपमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसै क्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि सहारा फाउन्डेसनसँगको सहकार्यमा कलेज परिसरमै तीन दिने बुके बनाउने तालिम सञ्चालन गरिएको थियो। तालिममा सहभागी विद्यार्थीहरूलाई विभिन्न प्रकारका आकर्षक बुके तयार गर्ने तरिका, आवश्यक सामग्रीको उचित प्रयोग तथा बुके सजाउने व्यावहारिक सीप सिकाइएको थियो।
‘बुके सजाउने कला सिक्नुहोस् र आफ्नो रुचिलाई सिर्जनशीलतामा बदल्नुहोस्’ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थीहरूमा सिर्जनात्मकता, व्यवहारिक ज्ञान तथा उद्यमशीलताको भावना विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समापन समारोहमा बोल्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले कलेजले शिक्षा र सीपमा मात्र सीमित नभई साँच्चिकै केही गर्छु भन्ने इच्छा भएका विद्यार्थीहरूलाई व्यवसायिक रूपमा अघि बढ्न आर्थिक सहयोग समेत गर्ने बताएका छन्।
उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको शिक्षा, सीप र प्रतिभा तुहिन नपाओस् भन्ने उद्देश्यका साथ कलेजले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष लामाले सहारा फाउन्डेसनले स्थापना भएको छोटो समयमै आफूलाई परिपक्व र प्रभावशाली संस्थाका रूपमा स्थापित गर्दै व्यापक सफलता हासिल गरेकोमा खुशी व्यक्त गरे। उनले संस्थाको प्रगति र सक्रियतामा सहारा फाउन्डेसनकी अध्यक्ष दिलमाया तामाङको भूमिकाको समेत प्रशंसा गरेका थिए।
त्यसैगरी कार्यक्रममा बोल्दै सहारा फाउन्डेसनकी अध्यक्ष दिलमाया तामाङले सहारा फाउन्डेसनले पनि शिक्षासँगै सीप, आर्थिक समृद्धि र आत्मनिर्भरताको अवधारणालाई प्राथमिकता दिँदै आएको बताइन्।
मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरूलाई कलेजमै व्यावहारिक सीप सिकाउने सहारा फाउन्डेसन प्रति बिश्वास गरि सुनौलो अवसर प्रदान गरेको भन्दै उनले कलेजका अध्यक्ष गेन्द्र लामा तथा सम्पूर्ण कलेज परिवार प्रति धन्यवाद व्यक्त गरिन्।
तालिममा सहभागी विद्यार्थीहरूले कलेजमै यस्तो व्यावहारिक सीप सिक्न पाउँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्ता तालिमले पढाइसँगै भविष्यमा स्वरोजगार बन्न तथा उद्यमशीलताको क्षेत्रमा अगाडि बढ्न समेत महत्वपूर्ण सहयोग पुग्नेछ।
मनास्लु वर्ल्ड कलेजले अध्ययन–अध्यापनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त तथा सीपमूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
मनास्लु वर्ल्ड कलेज र सहारा फाउन्डेसन बीचको सहकार्यमा सञ्चालन भएको यस तालिमले ‘शिक्षासँगै सीप, सीपसँगै आत्मनिर्भरता’ भन्ने अवधारणालाई थप बल दिएको सहभागीहरूले बताएका छन्।समापन समारोहमा तालिअममा सहभागी बिधार्थी भाई बहिनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ। पुरा फोटो हेर्न यो लिंकमा क्लिक गर्नुहोस ...