दोहा, कतार — नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा कतारको रेडिसन ब्लु होटेलमा आयोजित "माइती र चेली तिज सांगीतिक दर कार्यक्रम–२०२६" मा चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरीको विशेष सांगीतिक प्रस्तुति सम्पन्न भएको छ।
आयुषा मेकअप, अल दाना सैलुन कतार तथा आयुषा सैलुन एन्ड एकेडेमी प्रा.ली. काठमाडौंको चौथो प्रस्तुतिको रूपमा शुक्रबार आयोजित यस कार्यक्रममा कतारमा रहेका नेपाली महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता थियो। प्रवासमा नेपाली कला, संस्कृति, भेषभूषा र पारिवारिक आत्मीयतालाई जोड्ने उद्देश्यले आयोजित कार्यक्रमको मुख्य आकर्षण गायक खेम सेञ्चुरी रहेका थिए।
हलमा प्रवेश गर्दा दर्शकको भव्य हुटिङ र तालीबाट स्वागत गरिएका सेञ्चुरीले प्रस्तुति सुरु गर्नुअघि नेपालका बाढी पहिरो पीडितको उद्धारमा खटिएका सुरक्षाकर्मी र सहयोगीहरूप्रति सम्मान व्यक्त गर्न आग्रह गरेका थिए। दोस्रो पटक कतार आउन पाउँदा खुसी व्यक्त गर्दै उनले ‘उनी छन् र पो’, ‘मेरो माया न मारे काली’, ‘हेर मैले नाचेको’, ‘मायालाई पानको पात’, र ‘धानको पात’ लगायतका एक दर्जन चर्चित गीतहरू प्रस्तुत गरी हललाई सांगीतिक माहोलमा थपेका थिए।
कार्यक्रममा वीरेन्द्रकुमार श्रेष्ठ, जमुना श्रेष्ठ, मनिका गुरुङ, बिन्जु श्रेष्ठ, आस्था श्रेष्ठ, गंगा श्रेष्ठ, लक्ष्मी आले मगर, र नम्रता मोक्तान लगायतका स्थानीय कलाकारहरूले पनि सांगीतिक प्रस्तुति दिएका थिए।
६० वर्षीया आमा इन्द्र कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रशिक्षण केन्द्रको वेबसाइट सार्वजनिक गर्नाका साथै आयोजक आयुषाको जीवन संघर्षमा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रमको सञ्चालन विजय राज अधिकारी, शारदा भुजेल र अनु सुवेदी बस्नेतले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रमकी सहसंयोजक आयुषा खड्काले राखेकी थिइन्।
सभाध्यक्ष आयुषा श्रेष्ठ खड्काले प्रवासमा नेपाली मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताउँदै भोटेकोसी बाढी पहिरो पीडितका लागि संकलित रकम छिट्टै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जानकारी दिँदै कार्यक्रमको समापन गरिन्।