दोहा, कतार
"सबल प्रवासी: समृद्ध नेपाल, सुखी नेपाली" र "रक्तदान, जीवन दान" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, कतार (ONF Qatar) ले आयोजना गरेको 'बृहत् रक्तदान कार्यक्रम' भव्यताका साथ सम्पन्न भएको छ। हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १५२ जनाले रक्तदान गरी नयाँ रेकर्ड कायम गरेका छन्।
केही वर्ष पहिले एनआरएनए एनसिसी (NRNA NCC) कतारको आयोजनामा सम्पन्न कार्यक्रममा १४३ जनाले रक्तदान गरेको अभिलेखलाई उछिन्दै यसपटक सर्वाधिक रक्तदाताको सहभागिता रहेपछि कार्यक्रम ऐतिहासिक बनेको हो। नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजित यस मानवीय कार्यमा नेपालीसहित भारत, श्रीलङ्का, बङ्गलादेश तथा विभिन्न अफ्रिकी मुलुकका नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घ-संस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधि गरी करिब पाँच सय जनाको उपस्थिति रहेको थियो।
नेपाली रक्तदाता सङ्घ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले रक्तदान गरेर सुरुआत गर्नुभएको कार्यक्रम मञ्चका सचिव रघुनाथ शर्माको रक्तदान पश्चात् समापन भएको थियो। सहभागी सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
कतारमा रहेर नेपाली श्रमिकहरूको हक-हित र सामाजिक सेवामा निरन्तर खट्दै आएको मञ्चका सचिव रघुनाथ शर्माका अनुसार ब्लड बैङ्कमा रगतको मौज्दात बढाउन र बिरामीहरूको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कुनै जाति, धर्म, राष्ट्रियता वा राजनीतिक आस्थामा सीमित नभई साझा मानवीय अभियान भएको सन्देश यस कार्यक्रमले दिएको उहाँले बताउनुभयो।
त्यस्तै, मञ्चका अध्यक्ष अफसर अलि खानले कतारको नेपाली समाजमा राजनीतिक विचार र आस्था फरक भए पनि भाइचारा, सद्भाव र आपसी समन्वय कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। रक्तदान कार्यक्रमले सामाजिक एकता र सहकार्यको महत्त्व थप उजागर गरेको उल्लेख गर्दै उहाँले कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, प्राविधिक टोली, हमाद अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र बहुराष्ट्रिय रक्तदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
नेकपा (एमाले) को प्रवासस्थित सङ्गठनका रूपमा रहेको प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको यस पहिलो रक्तदान कार्यक्रमले संस्थाको सामाजिक सक्रियता, सङ्गठनात्मक क्षमता र सामुदायिक एकतालाई उजागर गर्दै कतारमा नेपाली समुदायको सकारात्मक पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।