दोहा, कतार
कास्की आदर्श समाज कतारको दशौँ राष्ट्रिय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। शुक्रवार वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले अमृत विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
खुला र बन्द गरी दुई चरणमा सञ्चालन गरिएको अधिवेशनबाट नयाँ नेतृत्वको चयन गरिएको हो।
नवगठित कार्यसमिति:
- अध्यक्ष: अमृत विश्वकर्मा
- प्रथम उपाध्यक्ष: कृष्ण भण्डारी
- उपाध्यक्ष: रामदास भुर्तेल, केदार भण्डारी, ऋषिराम विश्वकर्मा
- सचिव: विष्णु तिमिल्सिना
- सह-सचिव: प्रेम रसाइली, नारायण प्रसाद आचार्य
- कोषाध्यक्ष: ऋषिराम भण्डारी
- सह-कोषाध्यक्ष: चिरञ्जीवी अधिकारी
- कार्यसमिति सदस्यहरू: ईश्वर पौडेल, हेमबहादुर थापा मगर, किरण ढकाल, सरिता गुरुङ, पदम गुरुङ, विनोद बाबु अधिकारी, प्रेम बहादुर सुनार
कार्यसमितिमा दुई सदस्य पद भने हाललाई रिक्त राखिएको छ, जसलाई नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने जनाइएको छ। नवगठित सम्पूर्ण कार्यसमितिलाई निर्वाचन समिति संयोजक राम प्रसाद गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रमको खुला सत्रमा संस्थाका प्रथम उपाध्यक्ष (हाल निर्वाचित अध्यक्ष) अमृत विश्वकर्माले समाजको दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन तथा संस्थागत गतिविधिहरू प्रोजेक्टर मार्फत प्रस्तुत गर्नुभएको थियो। अधिवेशनका क्रममा कलाकारहरू वर्षा तामाङ, सन्जु बल लगायत कतारमा रहेका विभिन्न कलाकारहरूले आकर्षक नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।
संस्थाका अध्यक्ष अग्निधर देवकोटा र संस्थापक संरक्षक धुर्व राज अधिकारीको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै धुर्व राज अधिकारीले प्रवासमा कठिन परिस्थितिमा निर्माण भएका संस्थाहरूको संरक्षण र निरन्तरताका लागि नयाँ पुस्ता जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
अधिवेशनको खुला सत्र समापन गर्दै निवर्तमान अध्यक्ष अग्निधर देवकोटाले आफ्नो दुई कार्यकालको अनुभव बाँध्दै नयाँ नेतृत्वलाई सबैलाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो। पदबाट बिदा भए पनि संस्थाको सदस्यका रूपमा सधैं सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
अधिवेशनको अवसरमा समाजले आठ जनालाई आजीवन सदस्यता प्रदान गरेको छ। साथै, संस्था सञ्चालनमा सहयोग पुर्याउने विभिन्न सामाजिक व्यक्तित्वहरू, सामाजिक संघ-संस्था, पत्रकार, सल्लाहकार तथा संरक्षकहरूलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले कास्की आदर्श समाज कतारले प्रवासमा मात्र नभई गृह जिल्ला कास्कीमा समेत पुर्याउँदै आएको सामाजिक तथा परोपकारी योगदानको उच्च प्रशंसा गरेका थिए। अधिवेशनको सहजीकरण अमृत विश्वकर्मा र केदार भण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो।