काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छन् ।
मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वसन्तपुरमै रहेको जग्गामा गणेश र भैरवको निवास निर्माण गरिने जानकारी दिइन् । उनका अनुसार आगामी मंसिर गते बिहान ६ बजे पूजाआजासहित उक्त भवनको शिलान्यास गरिनेछ ।
उनले भनिन्, ‘आज म यहाँहरूको माझ घोषणा गर्न चाहन्छु, काठमाडौं महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास बनाउँदै छ । यहाँहरूले देख्न सक्नुहुन्छ, त्यहाँ टेन्ट लागेको छ, त्यससँगै रहेको जग्गामा निवास निर्माण हुँदै छ । त्यसको ड्रइङ पनि हेर्न सक्नुहुन्छ । आगामी ५ गते बिहान ६ बजे पूजाआजासहित शिलान्यास गर्नेछौँ । आज यहाँहरू सबैलाई सामूहिक रूपमा निमन्त्रणा पनि दिन चाहन्छु ।’
डंगोलले नेपाल संवत् आन्दोलनले सांस्कृतिक जागरणसँगै राजनीतिक परिवर्तनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताइन् । ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने र सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले अभियान सुरु भएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘आज हामीले ¥यालीमा सबैभन्दा बढी नयाँ पुस्तालाई बाजागाजा र आफ्नो मौलिक पोशाकमा देखिरहेका छौँ । ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रियकरण गर्नुपर्छ, राष्ट्रिय स्तरमा यसको मूल्य र मान्यता हुनुपर्छ भन्ने उद्देश्यका साथ यसलाई पुनर्जीवित बनाउन अभियान सुरु भएको थियो ।’
उनले नेपाल संवत् आन्दोलन सुरु गर्ने स्वर्गीय पद्मरत्न तुलाधर र यसै वर्ष निधन भएका स्वर्गीय दुर्गालाल श्रेष्ठलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । साथै अभियानलाई निरन्तरता दिन सहयोग गर्ने अग्रजहरूप्रति आभार व्यक्त गरिन् ।