बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा निर्माण गरिएको टावरको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने भन्दै निर्माण गरेको बहुउद्देश्यीय टावरको मंगलवार ओलीले उद्घाटन गरेका हुन्।
कुल ११ करोड ४५ लाख ८१ हजार ३ सय ३२ रुपैयाँमा टावर निर्माण भएको बताइएको छ। एक सय ३४ फिट उचाइको १० तले टावरको भुईँ तला ३ हजार ५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ। टावर २५ हजार १ सय २२ वर्ग फिट क्षेत्रफलमा रहेको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले जानकारी दिए। टावर निर्माणको कूल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा लिफ्ट सुविधा सहित निर्माण गरिएको टावरमा छैटौं तलासम्म सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, अफिस रुम, शौचालय, वातानुकुलित हल, लाइब्रेरी लगायतका संरचना बनाइएको छ।
सातौं तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ। टावरको १० औं तल्लामा दृश्यावलोकनका लागि टेलिस्कोप राखिएको छ।
टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन्। टावरको उत्तरतर्फ स्विमिङ पुल, चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि भइरहेको छ। बाँकी रहेका कामहरु दुई वर्ष भित्रमा सकिने जनाइएको छ।
‘टावरले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्नेछ,’ उनले भने। टावरको माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म देख्न सकिने छ भने, दुरविनको सहयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिनेछ।