१६ वैशाख, काठमाडौं । ‘मेयर साब, जावलाखेल र पुल्चोक मात्रै ललितपुर महानगरपालिका हो ?’ ललितपुर महानगरपालिकाले शुक्रबार जावालाखेलमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सुरेन्द्र विष्टले प्रश्न गरे । ‘चक्रपथभित्र र बाहिरको मान्छेले बरबार कर तिर्ने सेवा जति भित्रको लागि मात्रै दिने ? यो कस्तो शासन हो मेयर साब जवाफ दिनुस्’ कान्तिपुर टोल विकास संस्था आबद्ध विष्टले प्रश्न गरेपछि तालिर परर आयो ।
विष्टले मात्रै होइन सार्वजनिक सुनुवाइमा १० भन्दा बढी वक्ताले ललितपुर महानगरपालिका पुल्चोक, जावलाखेल केन्द्रित भएको भन्दै गुनासो गरेका थिए । बुङमतीका गोपाल तामाङले महानगरपालिका नाममात्रै भएकोले अनुभूत गर्न नपाएको बताए ।
बुङमती क्षेत्रमा इँट्टा भट्टाको कारण समस्या भएको भन्दै बारम्बार गुनासो गरे पनि सुनुवाइ नभएकोले निरीह भएर बस्नुपरेको उनले सुनाएका थिए । ‘हामी तामाङ समुदाय महानगरपालिकामा कुल मतदाताको जम्मा साढे दुई प्रतिशत मात्रै छौं, हाम्रो कुरा सुनुवाइ नै नभएको महसुस हुन्छ । बुङमतीमा भएको समस्या चक्रपथभित्रको महानगरले किन सुन्दैन ?’ तामाङले आफ्नो गुनासो मेयर महर्जनलाई सुनाए ।
नख्खु क्षेत्रका स्थानीयवासिन्दाहरुले महानगरपालिकाले चक्रपथभित्र स्मार्ट भन्दै प्रचार गरे पनि बाहिरी क्षेत्रमा दयालाग्दो स्थिति रहेको भन्दै महानगरको आलोचना गरेका थिए ।
१८ नम्बर वडाका स्थानीय शिवराम खड्काले ठेकेदारहरुले काम नगर्दा गुनासो गरेपनि महानगरले केही गर्न नसकेको बताए । उनले महानगरपालिकाका चक्रपथ बाहिरका वडाहरुलाई हेलाँ गर्न नहुने तर्क गरे ।
स्थानीय पूर्ण खत्री ‘रिङरोड बाहिरको विकास खै ?’ भन्दै प्रश्न गरेका थिए । खत्रीले आफू रुकुमबाट १५ वर्ष अगाडी ललितपुर आएको भन्दै अहिले पनि ललितपुर महानगर रुकुमको भन्दा धेरै विकास नभएको भन्दै व्यंग्य हानेका थिए ।
सार्वजनिक सुनुवाइमा चक्रपथ नाघ्न नसकेको विषय आएपछि जवाफमा ललितपुरका मेयर चिरीबाबु महर्जनले साविकको गाविस र कार्यविनायक नगरपालिकामा विकास गर्न बाँकी रहेको बताए । ‘कतिपय वडाहरु गाविसबाट कार्यविनायक नगरपालिका हुँदै महानगरमा परिणत भएका छन, त्यसले गर्दा साविक ललितपुर उपमहानगरपालिकाका वडा बराबरको विकास हुन सकेको छैन, त्यो सत्य हो,’ महर्जनले भने ‘विकास भनेको एकैरातमा हुने कुरा होइन, यसको लागि महानगरपालिकाले योजना सहित आगाडी बढेको छ ।’
उनले चक्रपथ बाहिरको वडाहरुको लागि बजेटमा सिलिङ बढाएको बताउँदै आगामी आर्थिक वर्षहरुमा पनि विकासको समानता हुनेगरी बजेट छुट्याउने बताए । उपप्रमुख मञ्जला शाक्य बज्राचार्यले सबै क्षेत्रको विकासको लागि महानगरपालिका प्रतिबद्ध भएको सुनाएकी थिइन् ।